नेपालको राजनीतिक आन्दोलनमा भावनात्मकताको खडेरी
नेपालको राजनीति आन्दोलनको इतिहासमा परिवर्तन कहिल्यै सहजै आएको छैन । राणा शासनविरुद्धको विद्रोहदेखि पञ्चायतविरोधी संघर्ष, दश वर्षको जनयुद्ध, जनआन्दोलन हुँदै गणतन्त्र स्थापनासम्म आइपुग्दा र पछिल्लो जेन–जी विद्रोह हुँदै आजसम्म नेपाली समाजले सडकमा आफ्नो आवाज मात्र उठाएको छैन, पुस्तौँदेखि बोकेको पीडा, आकांक्षा र सपनालाई पनि अभिव्यक्त गरेको छ । ती आन्दोलनहरू सडकमा केवल झन्डा र नारा थिएनन; त्यहाँ भविष्यप्रतिको भरोसा थियो, परिवर्तनप्रतिको उत्कृष्ट चाहना थियो र त्याग गर्न तयार नागरिकको मन थियो ।
तर आज नेपाली राजनीतिलाई नियाल्दा एउटा असहज प्रश्नले बारम्बार घोचिरहन्छ । त्यो हो हाम्रा राजनीतिक आन्दोलनबाट भावनात्मकता हराउँदै गएको त होइन ?
यहाँ भावनात्मकता भन्नाले केवल आँसु, आवेग वा भीडलाई उत्तेजित पार्ने भाषण भन्न खोजिएको होइन । भावनात्मकता भनेको नागरिकको दुःखलाई आफ्नै दुःख ठान्ने समबेदना हो । भोकाएको परिवारको चुलो सम्झिने विवेक हो भने खेतमा पसिना बगाउने किसानहरूको हात बुझ्ने चेतना पनि हो । रोजगारीको खोजीमा विदेशिन विमानस्थलमा लाम लागेका युवाहरूको आँखामा भविष्य खोज्ने क्षमता पनि हो । अस्पतालको शय्यामा उपचार खर्च जुटाउन नसकेको नागरिकहरूको पीडा महसुस गर्ने हृदय पनि हो । दुर्भाग्यवश, आजको राजनीतिको केन्द्रबाट यिनै मानवीय संवेदना क्रमशः हराउँदै गएको अनुभूति हुन्छ ।
हिजोका आन्दोलनमा मानिसहरू विचारका लागि सडकमा उत्रिन्थे । उनीहरूलाई परिवर्तनको मूल्य थाहा थियो । जेल जानुपर्छ, दुःख सहनुपर्छ, परिवारबाट टाढिनुपर्छ वा जीवन नै जोखिममा पर्न सक्छ भन्ने जान्दाजान्दै उनीहरू आन्दोलनमा होमिन्थे र उनीहरूका लागि राजनीति व्यक्तिगत लाभको भ¥याङ थिएन; राजनीति भनेको समाज बदल्ने माध्यम थियो । त्यसैले पुरानो आन्दोलनहरूमा त्याग थियो, आदर्श थियो र भावनात्मकताको गहिराइ थियो ।
आज आन्दोलनको स्वरूप बदलिएको छ । सडकमा भीड जम्मा हुन्छ, नारा घन्किन्छ, सामाजिक सञ्जालमा आक्रोशको बाढी आउँछ । तर आन्दोलनको भोलिपल्ट नागरिक फेरि उही समस्यामा फर्किन्छ । किसानहरू उही मल र बिऊको बजारको अन्यायसँग जुधिरहेको हुन्छ, बेरोजगार युवाहरू उही निराशासँग लडेका हुन्छन । विद्यार्थी उही अनिश्चित भविष्यसँग अल्झिएका हुन्छन् र सर्वसाधारण उही महँगी तथा अव्यवस्थासँग बाच्न बाध्य हुन्छन् । आन्दोलन उठ्छ, सत्ता तात्छ, राजनीतिक समीकरण बदलिन्छ; तर नागरिकहरूको जीवनमा भने परिवर्तनको गति अत्यन्त सुस्त हुन्छ । यसैले प्रश्न उठ्छ आन्दोलन र परिवर्तन कसका लागि ?
यदि राजनीतिक आन्दोलनको अन्तिम गन्तव्य केवल सरकार परिवर्तन हो भने त्यो अधुरो आन्दोलन हो । सरकार बदलिन सक्छ, मन्त्री बदलिन सक्छन्, गठबन्धन बदलिन सक्छन्, तर नागरिकको अवस्था उस्तै रह्यो भने राजनीतिक परिवर्तनको अर्थ के रहन्छ र ?
आज नेपाली राजनीतिमा सत्ता एउटा यस्तो चुम्बक बनेको छ, जसले विचार, सिद्धान्त र आदर्शलाई क्रमशः आपूmतिर तानिरहेको छ । चुनावअघि जनताका दुःख सम्झिन्छन्, चुनावपछि सत्ता समीकरणका अंकगणित सुरु हुन्छन् । आन्दोलनको समयमा नागरिकहरूलाई परिवर्तनका साझेदार बनाइन्छ, तर परिवर्तनपछि उनीहरूलाई फेरि दर्शकको भूमिकामा धकेलिन्छ । यही दूरीले गर्दा राजनीतिप्रति नेपाली नागरिकहरूमा वितृष्णा बढाइरहेको छ ।
सबैभन्दा ठूलो विडम्बना युवाको सवालमा देखिन्छ । देशको भविष्य भनेर भाषण गरिने युवा आज देशको वर्तमानबाटै बाहिरिँदै छन् । विमानस्थलमा बिहानैदेखि देखिने युवाको भीड केवल वैदेशिक रोजगारीको तथ्यांक होइन; त्यो नेपालको राजनीतिक र आर्थिक अवस्थामाथिको मौन प्रश्न हो । उनीहरू देश छोड्न चाहँदैनन् , तर देशभित्र आफ्नो भविष्य देख्न नसक्दा विदेशीन बाध्य हुन्छन् । एउटा युवा विदेश जाँदा केवल एउटा श्रमिक विदेश जाँदैन; परिवारको एउटा सपना, आमाबुबाको एउटा भरोसा र देशको सम्भावनाको एउटा हिस्सा पनि बाहिरिन्छ ।
तर राजनीतिक बहसमा युवाको यो पीडा कति गहिराइका साथ आउँछ ? उनीहरूको भविष्यलाई सत्ता समीकरणभन्दा माथि राख्ने साहस कति हुन्छ ? यहीँ राजनीतिक भावनात्मकताको परीक्षा हुन्छ ।
राजनीति नागरिकहरूको अनुहार फेर्ने कला पनि हो । तर हाम्रो राजनीति धेरैपटक नागरिकको अनुहारभन्दा भीडको संख्या गन्न व्यस्त देखिन्छ । कति मानिस आए, कति झन्डा फहराए, कति नारा लागे, यी कुराले आन्दोलनको शक्ति मापन गरिन्छ । तर ती मानिस किन आए भन्ने प्रश्न हराउँछ । उनीहरूको जीवनमा के परिवर्तन चाहिएको छ भन्ने प्रश्न हराउँछ । आन्दोलन सकिएपछि उनीहरूको हातमा के रह्यो भन्ने प्रश्न झन् हराउँछ ।
भीड ठूलो हुनु र आन्दोलन ठूलो हुनु एउटै कुरा होइन । आवाज चर्को हुनु र आवाज अर्थपूर्ण हुनु पनि एउटै कुरा होइन । लोकतन्त्रमा आन्दोलन आवश्यक हुन्छ । अन्यायविरुद्ध बोल्नु नागरिकहरूको अधिकार हो । सरकारलाई प्रश्न गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो । तर आन्दोलनले घृणा उत्पादन गर्न थाल्यो, समाजलाई शत्रु र मित्रको कित्तामा विभाजन गर्न थाल्यो र राजनीतिक असहमतिको ठाउँमा व्यक्तिगत वैरभावलाई स्थापित गर्न थाल्यो भने त्यसले परिवर्तनभन्दा बढी विनाश निम्त्याउन सक्छ ।
नेपाललाई आज अर्को ठूलो नाराभन्दा ठूलो नैतिक जागरण आवश्यक छ । राजनीतिक दलहरूलाई फेरि आफ्ना घोषणापत्रका शब्दभन्दा नागरिकको जीवन पढ्न आवश्यक छ । नेताहरूले मञ्चबाट भाषण गर्नुअघि गाउँका खेतमा पुगेर किसानहरूको हात छुन आवश्यक छ । बेरोजगार युवाको कोठामा पुगेर उसको बेचैनी सुन्न आवश्यक छ । सरकारी अस्पतालको लाइनमा उभिएको नागरिकहरूको धैर्य बुझ्न आवश्यक छ । राजनीतिमा यही स्पर्श हराएको छ ।
हामीले राजनीतिक परिवर्तन त धेरैपटक गर्यौँ, अब राजनीतिक संस्कार परिवर्तन गर्नुपर्ने बेला आएको छ । अबको आन्दोलन कुर्सीका लागि होइन, चरित्रका लागि हुनुपर्छ । अबको संघर्ष पदका लागि होइन, प्रणाली सुधारका लागि हुनुपर्छ । अबको राजनीति विपक्षीलाई समाप्त पार्ने होइन, नागरिकहरूको निराशा समाप्त पार्ने राजनीति हुनुपर्छ ।
राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई केवल चुनावी गणित सिकाएर पुग्दैन । उनीहरूलाई नागरिकहरूको पीडा बुझ्न सिकाउनुपदर्छ । असहमतिको सम्मान गर्न, प्रश्न सुन्न, गल्ती स्वीकार्न र सार्वजनिक जिम्मेवारी बहन गर्न सिकाउनुपदर्छ । लोकतन्त्र केवल मतदान गर्ने व्यवस्था मात्र होइन; लोकतन्त्र नागरिकहरूको सम्मान गर्ने संस्कार पनि हो भन्ने कुरा सिकाउनु पर्दछ ।
नेपालका राजनीतिक आन्दोलनले इतिहासमा ठूलाठूला परिवर्तन ल्याएका छन् । तर इतिहासको अर्को अध्याय अझ कठिन छ– अब नागरिकहरूको जीवन परिवर्तन गर्ने आन्दोलन कसले उठाउने ?
त्यो आन्दोलनको सुरुवात क्रान्तिको मैदान बाट पनि हुन सक्छ, सडकबाट पनि; तर त्यसको पहिलो सर्त संवेदना हो । जबसम्म राजनीतिक नेतृत्वले नागरिकहरूको दुःखलाई तथ्यांकका रूपमा होइन, अनुभूतिका रूपमा बुझ्दैन, तबसम्म कुनै पनि आन्दोलन पूर्ण हुँदैन । आज नेपालको राजनीतिक आकाशमा नाराहरूको कमी छैन, झन्डाको कमी छैन, भाषणको कमी छैन । कमी छ भने केवल त्यो संवेदनशील हृदयको, जसले नागरिकको पीडा सुनेर सत्ता होइन, समाधान खोजोस् ।
त्यसैले अब प्रश्न केवल यतिमात्र होइन कि नेपालमा अर्को राजनीतिक आन्दोलन कहिले हुन्छ ? असली प्रश्न यो हो– त्यो आन्दोलन कसका लागि हुन्छ ?
यदि आन्दोलन फेरि पनि कुर्सीका लागि भयो भने इतिहास दोहोरिनेछ । यदि आन्दोलन नागरिकहरूको सम्मान, रोजगारी, न्याय, सुशासन र आशाका लागि भयो भने इतिहास नयाँ बन्नेछ । नेपाललाई आज भीड होइन, भावना भएको राजनीति चाहिएको छ । नारा होइन, नागरिकहरूको आवाज चाहिएको छ । सत्ता होइन, सेवा श्रम गर्ने संस्कार चाहिएको छ ।
राजनीतिबाट भावनात्मकताको खडेरी हटेन भने आन्दोलनहरू भइरहनेछन्, तर परिवर्तन अधुरै रहनेछ । यदि राजनीतिमा फेरि मान्छे फर्कियो, उसको दुःख, उसको सपना, उसको आँसु र उसको आशा फर्कियो भने त्यस दिनदेखि राजनीतिक आन्दोलन केवल सत्ता परिवर्तनको साधन रहने छैन; त्यो समाज रूपान्तरणको यात्रामा बदलिनेछ ।
राजनीति सिंहदरबारको कुर्सीका लागि होइन, त्यही कुर्सीभन्दा धेरै टाढा बसेर आफ्नो जीवन धानिरहेका नागरिकहरूको मुस्कानका लागि हो । यो कुरा अहिलेको नवदलाल पूँजीवादी सरकारले बुझ सक्छ, न त हिजोका पूँजीवादी संसदवादी हरूले बुझे । नेपालको राजनीतिक आन्दोलनलाई भावनात्मकता तिर फर्काउन सबैभन्दा पहिला वर्ग दृष्टिकोण र सिद्धान्तमा एकरूपता आउन जरुरी हुन्छ । किनभन्दा वर्ग दृष्टिकोण र सिद्धान्त पूँजीवादी हुने बोलिमा मात्र वामपन्थी, कम्युनिष्ट राजनीतिक देखिने भएको कारणले गर्दा आज नेपाली राजनीति भावनात्मकतामा समस्या आएको हो । यो विषय नेपालका श्रमिक, किसान, मजदुर, मध्यम वर्ग, राष्ट्रियवादी, देशभक्त, वामपन्थी, लोकतन्त्रवादी र क्रान्तिकारी कम्युनिष्टहरूले बुझ्न जरुरी छ । साथै नयाँ कम्युनिष्ट केन्द्र निर्माण गरेर नेपालको राजनीतिक आन्दोलनमा आएको भावनात्मकताको खडेरीलाई अन्त्य गर्दै नयाँ ब्यवस्था नेपाली विशेषताको समाजवादी सत्ता र वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नु नै नै आजको नेपाली राजनीतिकको भावनात्मकताको संकटको निकास हो ।

