नयाँ नक्साबारे चीनलाई जानकारी गराएको आधिकारीकता भेटिएन !

२०८० भाद्र २१ गते, बिहीबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले मन्त्रालयका सम्बन्धित महाशाखामा खोज्दा पत्राचारको रेकर्ड नभेटिएको बताएका हुन् ।
२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गराइएको पत्र नभेटिएको मन्त्री साउदले बताए ।
भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री थिए । संसदीय समितिले त्यस्तो नक्साबारे अन्य राष्ट्रहरूलाई जानकारी गराइएको छ कि छैन भनेर परराष्ट्रमन्त्री साउदलाई बोलाएको हो । तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले पत्राचार गरिएको दाबी गरेको विषय पनि संसदीय समितिमा उठेको छ ।

यसैगरी, सोहि बथाक्मा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्शाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु सरकारको कर्तव्य भएको बताए । अध्यक्ष नेपालले संसदबाट पारित भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको नक्शा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने कर्तव्य भएको बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नक्शाका बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गर्दै त्यसो गरे, नगरेको सम्बन्धमा सरकारलाई प्रश्न गर्दै यदी अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने बताए ।
अध्यक्ष नेपाले परराष्ट्र सम्बन्धको सन्दर्भमा सरकारले आवश्यक ध्यान पुर्‍याउन नसकेको र परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने बताए ।

प्रतिक्रियाहरु

[anycomment]