नयाँ शहर बनाउन प्रस्ताव माग

काठमाडौँ । नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले नयाँ शहर बनाउन विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला शास्त्रमा ब्याचलर डिग्री तथा रिजनलरअर्बन प्लानिङ, अर्बन डिजाइन एण्ड कन्जरभेसन वा सो सरहको विषयमा मास्टर्स डिग्री हासिल गरेको हुनुपर्ने छ । र, स्नातक पश्चात न्युनतम तीन वर्षको अनुभव पनि हुनुपर्ने छ । यी योग्यता पुगेका र नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका नेपाली नागरिकले नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहलमा १५ दिनभित्र प्रस्ताव पेस गर्न सक्नेछन् ।
मध्य पहाडी लोकमार्ग र उत्तर(दक्षिण सहायक मार्गको मिलन बिन्दु वा त्यसको करिब ३-३ किलोमिटर आसपासका क्षेत्रलाई समेटी २०९० सालसम्म बढीमा १ लाख जनसंख्या अटाउने गरी १० वटा नयाँ शहरको विकास तथा निर्माण गर्ने सरकारको लक्ष्य छ । त्यसका लागि सरकारले शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजनाका कार्यक्रम सन्चालन गर्दै आएको छ ।