देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ। जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पुर्जी जारी गरिएको बताइएको छ । स्रोतका अनुसार मंगलबार न्यायाधीश महेन्द्र खड्कीको इजलासले पक्राउ अनुमति दिएको हो ।
पक्राउ पुर्जी जारी भएसँगै देउवा दम्पतीलाई फरार सूचीमा राखिएको छ । देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणका विषयमा छानबिन भइरहेको थियाे । गृह स्राेतका अनुसार रेड नोटिस जारी गर्नकै लागि देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएकाे हाे । विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिन्छ । त्यसको पहिलो औपचारिक कदम पक्राउ पुर्जीबाट जारी सुरु हुन्छ ।
सरकारले पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री देउवा सपरिवार विदेशमा छन् ।
फागुन १३ मा देउवा सिंगापुर गएका थिए। त्यसअघि नै पत्नी आरजु भारत हुँदै सि‌ंगापुर पुगेकी थिइन् । बीचमा दुवैजना उपचारका लागि हङकङ गएर सि‌ंगापुर नै फर्किएका थिए । जेन-जी आन्दोलनपछि १० कार्तिकमा उनीहरु उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]