प्रस्तावित राजदूतको सुनुवाइ हुँदै

२०८३ आश्विन २० गते, मंगलवार


काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु गर्ने भएको छ।
संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी समितिका सदस्यहरूलाई वितरण गरिनेछ। त्यसैगरी प्रस्तावित राजदूतहरूले समितिसमक्ष पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराउने कार्यसूची रहेको छ।
सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका राजदूतविरुद्ध कुल ७ वटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर परेको छ भने बाँकी पाँचवटा उजुरीमा एक–एक जना प्रस्तावित राजदूतलाई लक्षित गरिएको छ।
गत २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा र संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई सिफारिस गरिएको छ।
त्यस्तै जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सरकारले राजदूतका लागि सिफारिस गरेको छ।
संसदीय सुनुवाइ समितिले उजुरी र प्रस्तावित राजदूतहरूको कार्ययोजना अध्ययन गरेपछि क्रमशः उनीहरूको प्रत्यक्ष सुनुवाइ गर्नेछ। सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूको योग्यता, अनुभव, कार्ययोजना तथा सम्बन्धित मुलुकमा नेपालको कूटनीतिक हित प्रवर्द्धन गर्न उनीहरूले प्रस्तुत गर्ने योजनामाथि समितिले प्रश्न गर्नेछ।
समितिबाट सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन वा अस्वीकृत गर्ने प्रक्रिया अघि बढ्नेछ। अनुमोदन भएका व्यक्तिलाई सरकारले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रियाहरु

[anycomment]