जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल सञ्चालन

काठमाडौं । आजदेखि भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको छ । ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने भएको हो । जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा रेल सञ्चालनको शुभारम्भ गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आइतबार जनकपुर जानु हुने भएको छ । अहिले जनकपुरधामदेखि जयनगरसम्म ३४ किलो मिटरमा मात्रै रेलले सेवा संचालन हुदै आएको छ ।
नेपाल रेल्वे कम्पनीले यसका लागि महोत्तरीको भंगहामा रेल सेवाको विस्तारको कार्यक्रम समेत राखेको छ । कुर्था विजलपुरा खण्डमा रेल सेवा सञ्चालन भएपछि ब्रोडगेज रेलको लम्बाई ५२ किलोमिटर पुग्नेछ । रेल्वे विजलपुरासम्म सञ्चालनमा आउने भएपछि सञ्चालनको समयमा पनि हेरफेर गरिएको छ । महोत्तरीको विजलपुराबाट बिहान साढे ७ बजे रेल जयनगरका लागि छुट्ने छ । जयनगर हुँदै जनकपुरधामबाट साँझमा विजलपुराका लागि रेल प्रस्थान गर्नेछ ।