डोल्पा जिल्ला कारागारबाट ८ जना कैदी फरार

२०८३ कार्तिक १४ गते, शनिबार


काठमाडौँ । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दी फरार भएका छन्। उनीहरू कारागारभित्र सुरुङ खनेर फरार भएका हुन्। भेरी नदीको किनारमा रहेको जिल्ला कारागारबाट कैदीबन्दीले करिब चार मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर बाहिर निस्किएको पाइएको छ। कारागारबाट बाहिरिएपछि भेरी नदी पार गर्न पुलसमेत रहेकाले उनीहरू पुल तरेर फरार भएको बताइएको छ।
डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार कारागारमा रहेका १७ जनामध्ये आठ जना फरार भएका हुन्। फरार हुनेमा छ जना कैद सजाय भोगिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दी छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। कैदीबन्दी कुन समयमा फरार भए भन्ने यकिन हुन सकेको छैन। घटनाबारे कारागारको सीसीटीभी फुटेज जाँच भइरहेको छ।
फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, त्रिपुरासुन्दरी नगरपालिका–४ का धनबहादुर बुढा भन्ने हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्। त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ ।
फरार हुनेमध्ये राम विक, कालिप्रसाद रोकाया, धनबहादुर बुढा, रेशम राना र यज्ञ विक जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका थिए । कपिल परियार चोरी मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने तिलक र आदेश भण्डारी चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा थिए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग अवरुद्ध

२०८३ कार्तिक १४ गते, शनिबार

चौथो तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि

२०८३ कार्तिक १३ गते, शुक्रबार