स्याउ टिप्न समयतालिका

काठमाडौँ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका जनप्रतिनिधि र कृषकको बैठकले मुस्ताङको स्याउ टिप्न समयतालिका तोकेको छ । मुस्ताङका प्रमुख स्याउहरु उच्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ आगामी असोज १ गतेदेखि टिप्ने समयतालिका तोकिएको हो ।
कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले जात र गुणको आधारमा छिटो पाक्ने जातलाई पहिले र ढिलो पाक्ने जातलाई पछि टिपेर बजार पठाउने तालिका बनाइएको बताए । स्याउ पाक्ने बित्तिकै टिपेपछि बजारको समस्या नहुने र किसानले मूल्य पाउने बताइएको छ ।
यसभन्दा अघिका वर्षहरुमा मुस्ताङमा असोज १ गतेदेखि स्याउ टिप्ने गरिएकोमा तापक्रम वृद्धिका कारण यसपटक स्याउ छिटै गुलियो भएकाले टिप्ने समय अघि सारिएको कृषक बताउँछन् ।
अनुकूल मौसम, बगैँचा व्यवस्थापन, रोग कीराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढ्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरको दावी छ । गत वर्षको तुलनामा यसवर्ष २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढ्ने अनुमान गरिएको मगरको भनाइ छ ।
मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।