भोटेकोशी बाढीः ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

२०८३ भाद्र १३ गते, शनिबार


काठमाडौँ । प्रहरी प्रधान कार्यालयका अनुसार रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ। प्रहरीका अनुसार हालसम्म रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन्।
बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घरफिर्ता (डिस्चार्ज) भएका गरी हालसम्म ९७ जना रहेका छन्।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३ जना कर्मचारी हालसम्म सम्पर्कविहीन छन्।
बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारकार्यलाई तीव्र पारिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन्।

यसैगरी, रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक सम्पर्कविहीन भएकामध्ये हालसम्म १२१ को उद्धार गरिएको छ। अझै ६२२ पर्यटक सम्पर्कविहिन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६२२ पर्यटक अझै सम्पर्कविहिन भएका जानकारी दिए।
उनका अनुसार नेपालका १४९, भारतका ९८, अमेरिकाका ६५, युक्रेनका ६१, मलेसियाका ५१, चीनका आठ जना तथा अष्ट्रेलिया, बेलायत, क्यानडा, लाटभियालगायत ३६ देशका पर्यटकसहित ६२२ जना सम्पर्कविहीन भएका हुन्।
प्रमुख कार्यकारी अधिकृत ऐरले भारतका ८५, चीनका १६, दक्षिण कोरियाका नौ, अमेरिका, रुसका र इटालीका दुई/दुई तथा बेल्जियम, पोर्चुगल, स्पेन, बुल्गेरिया र स्वीजरल्याण्डका एक/एक जनाको उद्धार गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटनसम्बन्धी सरोकार भएका निकायले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्।
घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ।
बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु