आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार


काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव-पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।
यसैबीच, मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा पनि यो पर्व मनाइँदै छ । ब्राह्मणलाई जौ, चनाको सातु र सक्खरको सर्वत दान गरेर मिथिलावासीले यी पदार्थ आफूले पनि सेवन गर्ने परम्परा छ ।
पर्वमा जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । आज सुन, शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने शास्त्रमा वर्णन भएको जानिफकारहरुको कथन छ ।
शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ । पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।
यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु