एनपीएलको पहिलो क्वालिफायर : आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि यात्रामा पहिलो फाइनलिस्टको टुंगो आज लाग्दैछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित तालिकाको पहिलो स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो। सात खेल खेलेको टोलीले पाँच जित र एक हारको नतिजा निकालेको थियो।
यता सुदूरपश्चिमले १० अंकसहित दोस्रो स्थान सुरक्षित गरेको थियो। टोलीले सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको थियो।
आजको खेल जित्ने टोलीले उपाधिका लागि फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीको उपाधि सम्भावना भने समाप्त हुनेछैन। उसले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ।
यस सिजनको उद्घाटन खेलमै यी दुई टोलीबीच भेट भएको थियो। उक्त खेलमा लुम्बिनीले सात विकेटको सहज जित निकालेको थियो।
यद्यपि, आपसी प्रतिस्पर्धाको इतिहासमा भने दुवै टोली बराबरीको अवस्थामा छन्। हालसम्म भएका चार खेलमा लुम्बिनी र सुदूरपश्चिमले समान दुई–दुई जित निकालेका छन्।
