शुक्लाफाँटामा कृष्णसारको संख्या बढ्यो

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेको छ । २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट गरि ४२ वटा कृष्णसार त्यहाँ स्थानान्तरण गरिएको थियो । निकुञ्जमा उल्लेख्य मात्रामा कृष्णसारको संख्या वृद्धि भएको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हालै गरिएको गणनाअनुसार कृष्णसारको संख्या बढेर २ सय ५१ पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्या बढ्न थालेपछि निकुञ्ज भित्रैकै अन्य स्थानमा पनि स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ ।