एलन मस्क विश्वकै पहिलो खर्बपति !

काठमाडौँ । फोर्ब्स पत्रिकाका अनुसार विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएका छन्। पत्रिकाका अनुसार मस्क अहिले विश्वको पहिलो २ अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका हुन् ।
टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै ५ खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार-चढावका कारण बुधबार बिहान ५ खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर ४ खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोर्ब्सको रियल-टाइम बिलियनेयर्स ट्र्याकरमा उल्लेख छ ।
मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन ३ खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग २ खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् ।
पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे । त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए ।
विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।