क्रान्तिकारी !

२०८२ पुष १ गते, मंगलवार
  • खेम सी
    हो, उ कान्तिकारी हो
    किनकि बिहानै एक झोला तरकारी बोक्दै
    नेताको घरमा चिया पिउन पुग्छ
    नेतालाई देख्ने बित्तिकै साष्टांग दण्डवत गर्छ
    अनि उ क्रान्तिकारी नभएर को ?
    हो, उ क्रान्तिकारी हो
    किनकि उ दिनभर चन्दा र असुलीमा लाग्छ
    साँझ परेपछि भट्टीमा छिर्छ
    नेता , पार्टी र संगठनको उछित्तो काट्छ
    फेरी बिहान जुरुक्क उठेर नेताको दैलोमा पुग्छ
    जदौ गर्दै त्वमेब माता त्वमेब पिताको स्तुतुती गर्छ
    अनि उ क्रान्तिकारी नभएर को ?
    हो, उ क्रान्तिकारी हो
    किनकि पार्टी र संगठनको हिसाब किताब मुट्ठीमा लिन्छ
    पारदर्शिताको कुरो गरे अराजक भन्दै संगठनवाट एक्लाउछ
    मासु-भात र रक्सि पार्टी र संगठनको नाममा धोक्छ
    नीति , बिधि र विधानको कुरा गरे बिचमै रोक्छ
    बिहानै एकाध गोटा फलफुल बोक्दै
    नेताको दैलोमा गएर भैलो खेल्छ
    अनि उ क्रान्तिकारी नभएर को ?
    हो, उ कान्तिकारी हो
    आफू कुनै काम गर्दैन
    अरुलाई किन काम गर्यो भनेर चुक्ली लाउछ
    रत्नपार्क र भृकुटी मण्डपमा बदाम खाएर दिन बिताउछ
    आफु विद्वान हुँ भन्दै दुई चार जनालाई प्रवचन सुनाउछ
    अनि उ क्रान्तिकारी नभएर को ?
    हो, उ क्रान्तिकारी हो
    लेवी र चन्दा उठाएर परिवार पाल्छ
    साँझ बिहान नेताको दैलोमा धाउछ
    गणेश हुँ भन्दै कुमारहरुको चुक्ली लगाउछ
    नेताको काखमा बस्छ, त्यही लुटुपुटु गर्छ
    अनि उ इमान्दार र कर्तव्यनिष्ठ कहिलिंछ
    उसका सयौं खत मिनाहा हुन्छ
    अनि उ क्रान्तिकारी नभएर को ?

प्रतिक्रियाहरु

[anycomment]