निर्वाचन सार्थक बनोस्

२०८२ माघ २६ गते, आईतवार


आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिएसंगै अशान्ति, महंगी र कालोबजारी बढ्दै गएको छ । एकातिर निर्वाचनको मुखमा व्यापारीले सामान लुकाएर महंगी र कालोबजारी बढाएका छन् भने अर्कोतिर बिभिन्न अपराधीक समुहहरु सक्रिय भएको देखिन्छ । गत भदौ २३ र २४ गते भ्रष्टचार अन्त्य र सुशासनको मागसहित भएको जेन–जी विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले अझैसम्म निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सकेको छैन् । सरकारले एकातिर जेन–जी विद्रोहको बेला प्रहरीको लुटिएका अत्याधुनिक हतियार र जेलबाट भागेका सयौं अपराधीलाई अहिलेसम्म पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिन सकेको छैन भने अर्कोतिर यही मौका परेर विभिन्न लुट धन्दामा लागेका समुहहरु सक्रिय भइरहेका छन् ।
सरकारले निवाचनको निम्ति वातावरण बनाएको दावी गरे पनि जेन–जी आन्दोलनपछि फरार रहेका चार हजार कैदी कहाँ छन् भन्ने अझै टुंगो लगाउन सकेको छैन । लागुऔषध कारोवारी, सुन तस्करी, कर्तव्य ज्यान मुद्धामा अपराधी, संगठित अपराधी तथा सुटरहरुलाई अहिलेसम्म पूर्णरुपमा आफ्नो नियन्त्रणमा लिन सकेको छैन भने जेन–जीको न्यूनतम मागको समेत सम्बोधन गर्न सकेको छैन् । यतिबेला जेन–जीको आन्दोलन हाइज्याक भएको छ, पश्च्यगामी शक्तिहरु पुनः सल्बलाउन थालेका छन् । निर्वाचनको मुखमा देशको राजनीति पुनः तरंगित हुन थालेको छ । जसले निकट भविष्यमा देश र जनताको लागि ठूलो अनिष्ट हुने संकेत गरिरहेको छ । यही अवस्था रहे अझै पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्न सकिने अवस्था छैन् ।
यतिबेला भ्रष्टचार अन्त्य र सुशासनको मागसहित गत भदौ २३ र २४ गते भएको जेन–जी विद्रोह अग्रगमनभन्दा पनि पश्चगमनतिर गएर टुंगिने खतरा बढी रहेको छ । जेन–जीले उठाएको भ्रष्टाचारविरुद्ध र सुशासन कायमको प्रश्न अलपत्र परेको छ । जसका कारण जेन–जीको आन्दोलनको उपलब्धि सुन्य हुने देखिएको छ । जेन–जीले उठाएको कार्यकारी शासन प्रणाली, भ्रष्टाचार विरुद्ध र सुशासन कायम गर्ने आवाज सुशीला कार्कीको नेतृत्वमा सरकार गठनसँगै बन्द हुन् पुगेको छ । अव यही राज्य प्रणाली, संविधान र फागुन २१ गतेपछि व्यूँतने संघीय संसद्ले न जेन–जीको माग पुरा गर्नेछ, न नेपाली जनताको अपेक्षा नै पुरा गर्न सक्ने देखिन्छ । यही शासन प्रणाली, यही संविधान र यही संघीय संसदबाट देश र जनताको मुहार फेर्न सकिन्छ भन्नु र ठान्नु दिवास्वप्ना बाहेक केही हुन सक्दैन । तैपनि यो निर्वाचनले देश र जनताको बिध्यमान् संकटको समाधान गर्न सकोस । आम जनताको चाहना यही छ ।

प्रतिक्रियाहरु

[anycomment]