‘भुमिहिन र सुकुम्वासीलाई वैकल्पिक बसोबास र भुमिको व्यवस्था गर’
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भुमिहिन र सुकुम्वासीलाई वैकल्पिक बसोबास र भुमिको व्यवस्था गर्न माग गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सीले विज्ञप्तिमार्फत सरकारले राज्यका तीनवटै सुरक्षा निकाय (नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी) परिचालन गरी काठमाण्डौ उपत्यका लगायत देशैभरीका भुमिहिन जनता र सुकुम्वासी वस्तीमाथि गरेको डोजर आक्रमण र वर्वर दमनको घोर निन्दा एवं भत्र्सना गर्दै लाखौँ भुमिहिन जनता र सुकुम्वासी समस्याबारे गहिरो अध्ययन, तथ्यपरक छानविन र समाधानको ठोस वैकल्पिक कार्ययोजना विना जनताका अस्थायी आवासमाथि गरिएको डोजर आक्रमण वालेन्द्र शाह सरकारको निरंकुशता र जंगली चरित्रको पराकाष्ठ भएको ठोकुवा गरेका छन् । उनले सुकुम्वासी जनतामाथिको पासविक हमलालाई तत्काल रोकी वास्तविक भुमिहिन र सुकुम्वासीलाई वैकल्पिक बसोबास र भुमिको व्यवस्था गर्न सरकारसंग जोडदार मागसमेत गरेका छन् ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले विज्ञप्तिमार्फत सरकारले भुमिहिन र सुकुम्वासी बस्तीमा डोजर आक्रमण गरि उठिबास लगाएपछि विछिप्त भै ज्यान गुमाउन पुगेका वल्खु सुकुम्वासी वस्तीका इन्द्रबहादुर राई सहित २ जना मृतक प्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेका छन् । उनले सरकारको दमन विरुद्ध भुमिहिन र सुकुम्वासी जनताको न्यायपूर्ण आन्दोलन र आवाजमा देशव्यापी समर्थन गर्दै साथ दिन सिङ्गो पार्टीपंतिलाई विशेष निर्देशनसमेत दिएका छन् ।

