एक महिनामा १२४ सवारी दुर्घटना:१२ जनाको मृत्यु, १७४ जना घाइते
काठमाडौँ । गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीका अनुसार ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाख महिनामा ३७ वटा सवारी दुर्घटना भएको जानकारी दिए । ती दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोशी प्रदेशमा ३५ सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० सवारी दुर्घटनामा २७ जना घाइते भएका छन् । बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु तथा तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्रवक्ता काफ्लेले मापसेका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक नियमको पालना गर्न सबै चालकलाई आग्रह गरेका छन् । विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढी देखिने गरेको उनले बताए । उनले मापसे गरी सवारी चलाउनु गम्भीर कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि अत्यन्त जोखिमपूर्ण कार्य भएको उल्लेख गरे । चालकको निर्णय क्षमता कमजोर हुने, सवारी नियन्त्रणमा कठिनाइ हुने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले दुर्घटनाको सम्भावना अत्यधिक रहने उनको भनाइ छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पछिल्लो समय देशभर मापसे नियन्त्रण अभियानलाई प्रभावकारी बनाइएको जानकारी दिए । उनका अनुसार शहरी क्षेत्र, राजमार्ग, व्यस्त चोक तथा रातिको समयमा ट्राफिक चेकजाँचमा कडाइ गरिएको छ । उनले मापसे गरी सवारी नचलाउन तथा सुरक्षित यात्राका लागि जिम्मेवार बन्न सम्पूर्ण चालक तथा सर्वसाधारणलाई आग्रह गर्दै ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको बताए ।
