कम्युनिस्ट आन्दोलनको पुनर्गठन अनिबार्य

२०८३ जेष्ठ १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता प्रकाण्ड सीले राष्ट्रिय राजनीतिमा साम्राज्यवादी प्रभाव बढ्दै गएको भन्दै नेपालमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन अनिबार्य रहेको बताएका छन्।
पश्चिम नेपालका विभिन्न कार्यक्रम सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा मंगलबार तुलसीपुरमा स्थानीय नेताकार्यकर्तासँग भएको अनौपचारिक छलफलमा प्रवक्ता प्रकाण्ड सीले वर्तमान राजनीतिक परिस्थितिले क्रान्तिकारी कम्युनिस्ट शक्तिको काँधमा ऐतिहासिक जिम्मेवारी थपिएको बताएका हुन् । उनले देशमा बढ्दै गएको निराशावादलाई आशावादतर्फ, विघटनलाई संगठनतर्फ तथा विचलन र पलायनतालाई संघर्ष र रूपान्तरणतर्फ लैजानुपर्ने आवश्यकता औंल्याए।
प्रवक्ता प्रकाण्ड सीले समाजवाद र राष्ट्रिय स्वाधीनताको पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिएको उल्लेख गर्दै जनताको पक्षमा आधारित वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता रहेको बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न कारणले कमजोर र विभाजित बन्दै गएको उल्लेख गर्दै अब त्यसलाई पुनर्गठन गर्ने उपयुक्त समय आएको बताए। उनले राष्ट्रिय स्वाधीनता, जनजीविकाका सवाल तथा समाजवादी रूपान्तरणका मुद्दामा सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा समेत जोड दिए।
उक्त छलफलमा नेकपा (माओवादी)का स्थानीय नेताहरू तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे आफ्ना धारणा राखेका थिए।

प्रतिक्रियाहरु

[anycomment]