सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न निर्देशन

२०८३ असार ९ गते, मंगलवार


काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सबै होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले दिने भनेको सेवा–सुविधा लिएर पाँच दिनभित्र बसेको स्थान खाली गर्न निर्देशन दिएको छ । समितिले सरकारले दिने भनेको २५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले भने – ‘सरकारले सुरुमा एकमुष्ट २५ हजारका दरले पैसा दिने, त्यसपछि मासिक १५ हजार दिने भनिसकेको छ। अब खाता खोलेर पाँच दिनभित्र उक्त रकम लिएर जान भन्ने निर्देशन भएको छ । यो मन्त्रीस्तरमा निर्णय भएर हामीले यसको व्यवस्थापन हेर्नेछौँ ।’
समितिले यस विषयको सूचना सबै होल्डिङ सेन्टरहरूमा समेत टाँसिएको जनाएको छ ।
सूचना अधिकारी बानियाँले यदि २५ हजार रुपैयाँ लिएर पनि जाने विकल्प नभएकाको हकमा अर्को निर्णय हुने उनले बताए । उनले भने – ‘सुरुमा अब यो प्रक्रियाबाट कतिजना जानुहुन्छ हेरौँ । त्यसपछि जाने उपाय नभएकाको लागि के गर्ने भन्नेबारे फेरी छलफल र अर्को निर्णय हुन्छ। ’
सूचना अधिकारी बानियाँका अनुसार हालसम्म सबै होल्डिङ सेन्टरमा ३८८ घरपरिवार रहेका छन् । उनीहरूको स्क्रिनिङको काम सकिएको तर होल्डिङ सेन्टरमा नबसेका सुकुमवासीहरूको हकमा पनि रंगशालामा स्क्रीनिङको काम जारी रहेको छ ।
सुकुमवासी बस्ती भत्काएपछि सुकुमवासीको रूपमा आफ्नो नाम दर्ता गराउन आउनेको संख्या दुई हजार ६०८ जना रहेको थियो । त्यसमध्ये ३८८ जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी बाहिर आफैँ व्यवस्थापन गरेर बसेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]