नयाँ प्रस्ताव बिना कम्युनिस्ट आन्दोलन अगाडि बढाउन असम्भव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नयाँ प्रस्ताव बिना कम्युनिस्ट आन्दोलन अगाडि बढाउन असम्भव भएको ठोकुवा गर्दै क्रान्तिकारीको छुट्टैं पहिचानसहितको मोर्चा आवश्यक भएको बताएका छन् । बुधबार नेकपा(माओवादी) बागमती प्रदेशको विशेष बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उक्त बैठकलाई सम्बोधनगर्दै महासचिव विप्लव सीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई जोगाएर क्रान्ति गरेरै छाड्ने उद्घोष गरे। उनले भने- ‘हामी क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको केन्द्र हौं। यो आसाको केन्द्रलाई सबै तिरबाट प्रहार भईरहेको छ। हामी कुनै पनि मूल्यमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई जोगाएर क्रान्ति गरेरै छाड्छौ। समाजवाद मात्रै वर्तमान नेपालको राजनीतिक संकट निकास हो। समाजवादका प्रस्तावनामा सहमत हुने सँग सहकार्य गर्छौं। ‘
यसैगरी, महासचिव विप्लव सीले नेपालमा संसदीय कम्युनिस्ट धार कमजोर मात्रै होइन पतन उन्मुख भएको बताउँदै नेकपा (एमाले) का अध्यक्ष केपि वलि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल “प्रचण्ड” त्यसको मुख्य कारक भएको बताए। उनले संसदीय धारलाई कमजोर पारेर क्रान्तिकारी धारलाई पनि निमिट्यान्न पार्न साम्राज्यवाद लागि परेको बताउँदै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन नयाँ सिराबाट अगाडि बढाउन नयाँ प्रस्ताव आवश्यक रहेको बताए ।
महासचिव विप्लव सीले केपी वलि र प्रचण्डले आफुले राखेको प्रस्ताव मानेको भए अहिलेको हविगत भोग्न नपर्ने ठोकुवा गर्दै भने- ‘केपी वलि र प्रचण्डले हामीलाई याचक र हामीले राखेको प्रस्तावलाई याचनाका रुपमा लिनु भयो। हामीले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन जोगाउन, देशको स्वाधीनता जोगाउन, देशलाई अग्रगामी निकास दिन सहकार्यको प्रस्ताव राख्यौं तर उहाँहरूले केवल चुनावी परिणामलाई आफ्नो पक्षमा पार्ने, ठूलो पार्टी हुने, सांसद, प्रधानमन्त्री, मन्त्री र नियुक्ति खाने बाहेक उहाँहरूको अर्को प्रस्ताव नै आएन। ‘
यसैगरी, महासचिव विप्लव सीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) क्रान्तिकारी कम्युनिस्ट आन्दोलन जोगाउन सबै मोर्चाबाट लडिरहेको बताउदै भने- ‘ केपि-प्रचण्डको मोर्चा संसदीय निर्वाचन मात्रै भएकोले एकता र सहकार्य हुन नसकेको हो। केपि-प्रचण्ड फोहिरी संसदीय गोलचक्कर बाट निस्कन मान्नु भएन । उहाँहरूबाट कम्युनिस्ट आन्दोलनको रक्षा र बिकास सम्भव देखिदैन।’
यसैगरी, महासचिव विप्लव सीले देशमा क्रान्तिकारी शक्तिको उदय नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्वमा हुने ठोकुवा गर्दै भने- क्रान्ति भनेको नापे वा तौले अनुसार हुँदैन । बितेका १२ वर्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेतृत्वमा एकीकृत जनक्रान्तिको तयारीअनुसार काम भइरहेको छ ।’
महासचिव विप्लव सीले १२ वर्षमा क्रान्ति नभएको भन्दैं केही भगुवाहरु भाग्दैंमा क्रान्ति नरोकिने बताउदै १२ सय वर्ष लडेर भएपनि क्रान्तिको बाटोमा आफु अघि बढिरहने दृढता व्यक्त गरे ।
