अमेरिकाद्वारा ‘गाभी’ का लागि ६० करोड डलर निकास गर्ने घोषणा

२०८३ श्रावण १४ गते, बिहीबार


काठमाडौँ । अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का लागि ६० करोड अमेरिकी डलर निकास गर्ने घोषणा गर्दै यसै कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको छ । राष्ट्रसंघीय निकाय डब्लूएचओका लागि यो ठूलो आर्थिक धक्का मानिएको छ । अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा “संयुक्त राज्य अमेरिकाले गाभीमार्फत विश्व स्वास्थ्य संगठनलाई कुनै पनि अमेरिकी सरकारी रकम उपलब्ध नगराउने कुरा पुनः पुष्टि गर्दछ भनिएको हाे ।”
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट केनेडी जुनियर र विदेश मन्त्री मार्को रुबियोलाई अमेरिकी सहयोग निरन्तरताका लागि गाभीसँग सुधारका सर्तमा वार्ता गर्न” दिएको निर्देशन अनुरूप यो निर्णय आएको जारी विज्ञप्तिमा भनिएकाे छ। विश्वभर खोपको पहुँच विस्तार गर्ने यो विश्वव्यापी कार्यक्रममा अमेरिकी सहयोग पुनः निरन्तरता दिन पहल गर्दै आएकी अमेरिकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले सरकारको यो निर्णयको स्वागत गर्नुभएकाे हाे ।
विदेश मन्त्रालयले गाभीले आफ्नो सञ्चालक समिति र साझेदार देशहरूसँग मिलेर पारो (मर्करी) युक्त खोपहरूलाई पारोरहित खोपले विस्थापित गर्ने दिशामा काम गर्न सहमति जनाएको छ । ट्रम्प प्रशासनको डब्लूएचओप्रतिको यो कदम पुरानै तिक्तताको निरन्तरता भएकाे विश्लेषण गरिएकाे हाे।

प्रतिक्रियाहरु

[anycomment]