आज अन्तर्राष्ट्रिय मित्रता दिवस

२०८३ श्रावण १४ गते, बिहीबार


काठमाडौँ । आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मित्रता दिवस । व्यक्ति, समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रतामार्फत शान्ति स्थापना, सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०११ मा घोषणा गरेपछि हरेक वर्ष जुलाई ३० मा यो दिवस मनाइने गरेको छ।
राष्ट्रसङ्घका सदस्य देशका सरकार, अन्तरराष्ट्रिय सङ्गठन तथा नागरिक समाजलाई संवाद, ऐक्यबद्धता, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धन गर्ने कार्यक्रम, अभियान र पहल गर्न उक्त विश्व संस्थाले आह्वान गरेको छ।
राष्ट्रसङ्घका अनुसार विभिन्न समुदाय, संस्कृति तथा राष्ट्रबीचको मित्रताले शान्ति स्थापनाका प्रयासलाई प्रेरणा दिनुका साथै समुदायहरूबीच विश्वास र सहकार्यको पुल निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासका साथ यो दिवस घोषणा गरिएको हो।
राष्ट्रसङ्घको महासभाले विशेषगरी भविष्यका नेतृत्वकर्ता युवालाई विभिन्न संस्कृति र समुदायसँग जोडिएका सामाजिक गतिविधिमा सहभागी गराई अन्तर्राष्ट्रिय समझदारी, विविधताको सम्मान तथा सहिष्णुताको भावना अभिवृद्धि गर्न जोड दिएको छ।
अन्तर्राष्ट्रिय मित्रता दिवस राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले अघि सारेको ‘शान्तिको संस्कृति’ अवधारणाको निरन्तरता हो। युनेस्कोले शान्तिको संस्कृतिलाई प्रवर्द्धन र हिंसा अस्वीकार, द्वन्द्वका मूल कारणलाई सम्बोधन गर्ने तथा संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ। यसै अवसरमा युनेस्कोले मित्रता, सम्मान, विविधताको स्वीकार र आपसी विश्वासबाट नै शान्तिपूर्ण तथा समावेशी विश्व निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]