डा. सीके राउत जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा निर्विरोध निर्वाचित

२०८३ आश्विन २ गते, शुक्रबार


काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन्। पार्टीको आगामी दोस्रो महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार तय गरिएको मनोनयन दर्ता कार्यक्रममा अध्यक्ष पदका लागि डा. राउतको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदमा सर्वसम्मत चयन भए तापनि पार्टीका अन्य विभिन्न पदाधिकारी पदहरूमा भने चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूची अनुसार पदाधिकारीका अन्य पदहरूमा उल्लेख्य मनोनयन दर्ता भएको छ। जस अनुसार कुल ७ जना उपाध्यक्ष पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्।
उपाध्यक्ष पदका उम्मेदवारहरूमा रौतहटका वसन्तकुमार कुशवाहा, धनुषाकी अनिता साह, सिरहाकी अनिता मण्डल, सप्तरीका डा. जयकान्त राउत, कपिलवस्तुका नरेन्द्रप्रसाद चौधरी, पर्साका माधवप्रसाद सिंह, सिरहाका राजकुमार यादव त्यागी, बाराका डा. कमरुल्लाह अंसारी, रुपन्देहीका सञ्ज्यकुमार मिश्र, सप्तरीका मदनेशकुमार चौधरी, मोरङका परमेश्वर मुर्मु, बाराकी रोसन खातुन, बाँकेका हरपाल सिंह सोडी र सर्लाहीकी मनोहरी देवी वैठा रहेका छन्।
यसैगरी पार्टीको एक महासचिव पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजेशकुमार मण्डलका अनुसार महासचिवमा सप्तरीकी ममता झा, महोत्तरीका चन्दनकुमार सिंह र सिरहाका संजयकुमार यादवको उम्मेदवारी परेको छ। त्यस्तै एक उपमहासचिव पदका लागि सिरहाका निर्मलकुमार मण्डल र रौतहटका ललितचन्द्र मल्लिक मैदानमा उत्रिएका छन्।
त्यस्तै ७ जना सचिव पदका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ। सचिव पदमा धनुषाका सन्तोषकुमार सहनी, सप्तरीका सुरेन्द्र शर्मा मधेशी, रौतहटका हरेन्द्र चौधरी, महोत्तरीकी अन्जनीदेवी, सिरहाका रोहित महतो, बाराका पारसप्रसाद साह, बाँकेकी राधाकुमारी यादव, नवलपरासीका बाल गोविन्द चौधरी, महोत्तरीका वीरेन्द्र महतो (जीवन त्यागी) र बाराका रामबाबु साहले उम्मेदवारी दिएका छन्।
जनमत पार्टीको यो दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते पर्साको वीरगञ्जमा भव्य रूपमा आयोजना हुँदैछ। मनोनयन दर्तासँगै महाधिवेशनका अन्य आन्तरिक तथा निर्वाचनसम्बन्धी तयारीलाई तीव्र पारिएको छ।

प्रतिक्रियाहरु

[anycomment]