विश्वका उत्कृष्ट सहरमा न्यूयोर्क , काठमाडौं ६८७औँ स्थानमा

२०८३ आश्विन २ गते, शुक्रबार


काठमाडौँ । अक्सफोर्ड इकोनोमिक्सले सार्वजनिक गरेको सन् २०२६ को ग्लोबल सिटी इन्डेक्समा अमेरिकाको न्युयोर्क विश्वकै उत्कृष्ट सहरका रूपमा शीर्ष स्थानमा परेको छ। विश्वका १ हजार ठूला सहरलाई विभिन्न सूचकका आधारमा मूल्यांकन गर्दै तयार पारिएको सूचीमा न्युयोर्क पहिलो स्थानमा परेको हो। अक्सफोर्ड इकोनोमिक्सको सन् २०२६ विश्व सहर सूचकांकमा न्यूयोर्क पहिलो, लन्डन दोस्रो र पेरिस तेस्रो स्थानमा परेका छन्।
त्यसैगरी अमेरिकाको सियाटल चौथो, सान फ्रान्सिस्को पाँचौं र आयरल्यान्डको डब्लिन छैटौं स्थानमा रहेका छन् । सातौं स्थानमा अमेरिकाको बोस्टन, सान होजे आठौं स्थानमा, जापानको टोकियो नवौं स्थान र स्विट्जरल्यान्डको ज्युरिख दशौं स्थानमा रहेका छन् भने नेपालको राजधानी काठमाडौं समग्र सूचीमा ६८७औँ स्थानमा रहेको छ। काठमाडौं यो स्थानमा पाँच वटा इन्डेक्सको आधारमा रहेको हो । काठमाडौं अर्थतन्त्रमा ६७० औं स्थानमा, मानवीय क्षमतामा ५६२औँ स्थानमा, जीवनस्तर ८४० औँ स्थानमा, वातावरणमा ६३९ स्थानमा र शासनमा ६३५औं स्थानमा रहेको छ ।
अक्सफोर्ड इकोनोमिक्सका अनुसार समग्र मूल्यांकनमा पाँचवटै आधारलाई जोडेर सहरको अवस्था मापन गरिएको हो। यसमा कुनै एउटा पक्षको मात्र अवस्था नभई सहरको आर्थिक अवस्था, जनशक्ति, बसोबास तथा जीवनस्तर, वातावरण र शासनको समग्र प्रदर्शनलाई समेटिन्छ।
सूचीमा न्यूयोर्कले १०० अंकसहित पहिलो स्थान पाएको छ भने लन्डनले ९८.८ र पेरिसले ९३.४ अंक पाएका छन्। अस्ट्रेलियाको राजधानी क्यानबेरा विश्वमै जीवनस्तरका लागि सबैभन्दा राम्रो सहर बनेको छ। यो शहर समग्रमा भने ४५ औँ स्थानमा छ ।
जीवनस्तरको मूल्यांकन गर्दा मानिसको आम्दानी, आम्दानीबीचको अन्तर, घरभाडा तथा आवास खर्च, औसत आयु, अपराधको अवस्था र मनोरञ्जन तथा सांस्कृतिक सुविधालगायत विषयलाई आधार बनाइएको छ।
अर्थतन्त्र सूचकका शीर्ष ८ मध्ये ७ सहर अमेरिकाका छन्। सातौँ स्थानमा लन्डन रहँदा अन्य स्थानमा क्रमशः न्युयोर्क, लस एन्जलस, सान जोस, सिएटल, सान फ्रान्सिस्को, डल्लास र वासिङ्टन रहेका छन्।
मानवीय पुँजीमा भने लन्डन, दुबई, टोकियो, रियाद, न्युयोर्क, आबुधाबी, पेरिस र सेन्जेन क्रमशः पहिलोदेखि आठौँ स्थानसम्म रहेका छन्। वातावरण सूचकमा होनोलुलु, फोर्टालेजा, बर्गेन, वेलिङ्टन, अराकाजु, सुभा, स्टकहोम र सान्ता क्रुज डे टेनेरिफे क्रमशः पहिलोदेखि आठौँ स्थानमा रहेका छन्।
त्यस्तै सुशासनमा कोपनहेगन, आर्हस, अकल्यान्ड, वेलिङ्टन, क्राइस्टचर्च, हेलसिन्की, टाम्पेरे र ओस्लो क्रमशः पहिलोदेखि आठौँ स्थानसम्म रहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]