नेप्से ९.६२ अंकले घट्यो

२०८३ आश्विन १३ गते, मंगलवार


काठमाडौँ । नेप्से ९.६२ अंकले ओरालो लागेर २६०३.७१ विन्दुमा बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको सूचक दिनभरि नै प्रायः राताम्मे रह्यो ।आज बजारले २५ सयको विन्दुमा बलियो टेवा (सपोर्ट) पाएर फर्किएको देखिन्छ । दिनभरको कारोबारमा सूचक अधिकतम २६१४ विन्दुसम्म पुगेको थियो भने न्यूनतम २५८८ विन्दुसम्म ओर्लिएको थियो ।
कारोबारको अन्तिम समयमा लगानीकर्ताहरू सम्हालिँदा नेप्से सूचक एकल अंकको गिरावटमा रोकिन सफल भयो । यस दिन बजारमा कुल चार अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको २२ करोड ९९ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । केही दिनयता यस कम्पनीको सेयरमा लगानीकर्ताहरूको आकर्षण देखिए पनि आज मूल्यका आधारमा भने यो कम्पनी अगाडि आउन सकेन ।
आज सबैभन्दा धेरै मूल्य बढ्ने सूचीमा आईसीएफसी फाइनान्सको डिबेन्चर अग्रस्थानमा रह्यो । यसको मूल्य ९.१८ प्रतिशतले बढेको छ । सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.७९ प्रतिशतले वृद्धि भएको छ ।
यता, घट्नेमा भने म्युचुअल फन्डहरू अगाडि देखिएका छन् । आज सिटिजन्स सुपर ३० को मूल्य ५.४४ प्रतिशत र आरबीबी म्युचुअल फन्डको मूल्य ४.६७ प्रतिशतले घटेको छ ।
समग्रमा आज कारोबारमा आएका ३६३ मध्ये ६९ कम्पनीको मूल्य बढेको छ भने १९९ वटाको मूल्य घटेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु