अर्जेन्टिनाद्वारा बेलायतविरुद्ध कानुनी कदम चाल्ने चेतावनी

२०८३ आश्विन १३ गते, मंगलवार


काठमाडौँ । अर्जेन्टिनाले फकल्यान्ड टापुमा सञ्चालन भइरहेको तेल परियोजना नरोके बेलायतविरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएको छ ।
अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईले बेलायतलाई उत्तरी फकल्यान्ड क्षेत्रमा सञ्चालन भइरहेको ‘सी लायन प्रोजेक्ट’ रोक्न दुई हप्ताको समयसीमा दिएका छन् । उक्त परियोजना नरोके ह्याम्बर्गस्थित इन्टरनेसनल ट्राइब्युनल फर द ल अफ द सी (आईटीएलओएस)मा मुद्दा दायर गर्ने उनले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् ।
फकल्यान्ड टापुमाथि बेलायत र अर्जेन्टिना दुवैले सार्वभौम अधिकार दाबी गर्दै आएका छन् । बेलायतले सन् १८३३ देखि टापुलाई आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको छ । अर्जेन्टिनाले बेलायती नियन्त्रणलाई औपनिवेशिक कब्जा भन्दै आफ्नो दाबी कायम राखेको छ ।
फकल्यान्ड विवादकै कारण सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच करिब ११ हप्ता युद्ध भएको थियो । युद्धपछि बेलायती सेनाले टापुमाथि पुनः नियन्त्रण कायम गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]