महिला बिक्री गर्न पल्केका दश जना पक्राउ

काठमाडौ, । महानगरीय प्रहरी अपराध महाशाखाले इराकमा महिला बिक्री गर्न सक्रिय गिरोहका १० जनालाई बिहीबार सार्वजनिक गरेको हो ।लेवनान लैजाने भन्दै इराकमा बेचिएर फर्किएकी महिलाले गरेको उजूरीको आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त ३३ बर्षीय कुमारी भन्ने फूलकुमारी महरा, ३८ बर्षकी दिलु भन्ने रामकुमारी राई, काभ्रेकी ४९ बर्षीय भुइसल लामा, २४ बर्षका अभिराज राई, २८ बर्षका हरि तामाङ, भोजपुरका ४२ बर्षीय कामी शेर्पा, ३३ बर्षीय डोमा शेर्पा, २४ बर्षका सोनम लामा, ५० बर्षीया आङ्गलम्बु शेर्पा र ४३ बर्षका बिक्रम राज श्रेष्ठ छन् ।
उनीहरुलाई प्रहरीले बिभिन्न मितिमा पक्राउ गरेको हो । पक्राउ परेकामाथि मानव ओसारपसार तथा बेचबिखन संगठित अपराधको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
बेचबिखनमा संलग्न इराकी एजेन्टसहित ५ जना फारार रहेको प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई लेबनान, कुवेत, ओमान लैजाने भन्दै इराकमा लगेर बिक्री गर्ने गरेको प्रहरी दाबी छ ।
महिलाहरुलाई त्रिभुवन बिमानस्थल हुँदै श्रम स्वीकृत प्राप्त मुलुकमा लगी त्यहीबाट इराक लगेर बिक्री गर्ने गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । ओमान लाने भन्दै इराक पुर्या्इएकी एक महिलाले गरेको उजूरीबारे अनुसन्धान गर्दा प्रहरीले यो तथ्य पत्ता लगाएको हो ।
अघिल्लो बर्ष पुस २६ गते यूएईको सारजहा पठाइएकी ती महिलालाई बेचिएको थाहा पाएर चैत १६ गते दाईको सहयोगमा नेपाल फर्किएकी थिइन् । उनलाई यूएईबाट इराक जाने पासपोर्ट अभियुक्तहरुले नेपालमै दिएका थिए । अभियुक्तहरुले ती महिलालाई इराक जाने पासपोर्ट पेन्टीभित्र लुकाउन लगाएका थिए ।
यही गिरोहले कीर्गिस्तान पठाउने भन्दै इराक लैजाने खोजेको चार महिलालाई प्रहरीले चैत २२ गते त्रिभुवन बिमानस्थलबाट उद्दार गरेको थियो । प्रहरीले योजनाबारे थाहा पाएपछि मुख्य अभियुक्त कुमारी भनिने फूलकुमारीले चैत २५ र २९ गतेको उडान लागिएको १७ महिलाको टिकट रद्द गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।