ट्रेड टावरमा ताला लगाइने
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले बारम्बार ताकेता गर्दा पनि घरजग्गा कर नतिरेकाले थापाथलीस्थित खाद्य संस्थानको जग्गामा बनेको ट्रेड टावरमा ताला लगाउने भएको छ । महानगरपालिकाले टावरको मूल गेटमै तालाबन्दी गर्ने निर्णय गरेको छ ।कञ्चनजंघा हाउजिङ प्रालिले खाद्य संस्थानसँग जग्गा लिजमा लिएर ट्रेड टावरको निर्माण र सञ्चालन गरिरहेको कञ्चनजंघा हाउजिङले करिब ६० लाख राजस्व तिर्न बाँकी रहेको कामनपा राजस्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानांगले बताए ।
नक्सा पास भएको दुईबर्षभित्रमा घरबहाल कर तिर्नुपर्नेमा ट्रेड टावरले हालसम्म एकपटक पनि कर नतिरेको र तिर्ने प्रक्रियामा पनि नआएको महानगरले जनाएको छ । महानगरका अनुसार कर तिर्न आउन सार्वजनिक सूचना जारी गरिएको र सो अवधिमा पनि नआएपछि तालाबन्दी गर्ने सूचना गरेको छ ।कर तिर्न १ वैशाखमा दिइएको समयावधि सकिएको तर सम्पर्कमा नआएपछि बाध्य भएर तालाबन्दी गर्न लागिएको प्रधानांगले बताए ।