एसएलसीको मार्कसिट १५ दिनभित्र
काठमाडौ, जेठ २९ – एसएलसीको मार्कसिट १५ दिनभित्र विद्यालयमा पुग्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।बुधबारदेखि मार्कसिट प्रिन्ट गर्ने काम शुरु हुने भएकाले छिटै जिल्लामा पठाइने परीक्षा नियन्त्रक खगराज बरालले जानकारी दिए ।मार्कसिट इन्टरनेटमा समेत हेर्न मिल्ने भएकाले विद्यार्थीलाई खासै समस्या भने छैन । कलेजमा भर्ना हुने बेलासम्म विद्यार्थीको हातमा मार्कसिट पुग्ने बरालले बताए । यस्तै पुनर्योग गर्न चाहने विद्यार्थीलाई विवरण राम्रोसँग भर्न कार्यालयले आग्रह गरेको छ ।
कार्यालयले निवेदनमा नाम, सिम्बोल नम्बर, विषय र परीक्षा केन्द्र स्पष्ट लेख्न आग्रह गरेको हो । पुनर्योगको लागि १५ दिनभित्र जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।
यस्तै परीक्षाफल स्थगित भएकाले दुई महिनाभित्र आवश्यक प्रमाणहरु पेश गर्न कार्यालयले ध्यानाकर्षण गराएको छ । यस्तै पूरक परीक्षाको लागि साउन १५ सम्म फारम भर्न पनि कार्यालयले आग्रह गरेको छ ।दुई विषय अनुतीर्ण हुने विद्यार्थीका लागि साउन २० गतेदेखि २७ गतेसम्म पुरक परीक्षा संचालन हुने कार्यालयले जनाएको छ ।