पर्यटन प्रवद्र्धन गर्न अध्ययन सुरु
काठमाडौं, असार ९ – सरकारले पर्यटन प्रवद्र्धनका लागि नयाँ योजना बनाउन अध्ययन सुरु गरेको छ ।
पर्यटकीय स्थलमा पर्यटकको पहुँच बढाउन हवाई यातायातलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।
स्थलमार्गको समस्याले पर्यटक गन्तव्यसम्म पुग्न नसकेको पाइएपछि सरकारले हवाई सेवालाई प्राथमिकतामा राखेको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन उद्योग महाशाखाले आन्तरिक पर्यटकका लागि साना विमान र बाह्य पर्यटकका लागि ठूला विमानको व्यवस्था गर्ने तयारी थालेको छ । आवतजावतमा समस्या हुँदा एकपटक आएका पर्यटक अर्काेपटक नआउने समस्या देखिएकाले यसमा सुधार गर्न लागिएको हो ।
यस्तै पर्यटकको आवागमन बढाउन पदयात्रा, हिमाल आरोहण र पर्यटन बोर्डलाई अझ सक्रिय बनाउने गृहकार्य पनि थालिएको महाशाखाले जनाएको छ ।पदयात्राका लागि नयाँ बाटो खोजी गर्ने, सडक विस्तारका कारण बिग्रिएका बाटो मर्मत गर्ने विषयमा छलफल भइरहेको महाशाखाका प्रमुख पूर्णचन्द्र भट्टराईले जानकारी दिनुभयो । हिमाल आरोहीको संख्या बढाउन त्यस क्षेत्रमा सरफाई र अन्य सुविधाका विषयमा सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ ।