फेवातालमा ‘रेस्क्यु’ टावर निर्माण
पोखरा, २१ असोज । फेवातालमा डुंगा चलाउने क्रममा आइपर्ने दुर्घटनालाई न्यूनीकरण गर्न रेस्क्यु टावर निर्माण गरिएको छ । फेवातालमा डुंगा चलाउदा दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएपछि रेस्क्यु टावर निर्माण गरिएको हो । तालमा दुर्घटना भएको एक मिनेटमै रेस्क्यु टोली घटनास्थलमा पुग्ने र तत्काल उद्धार गर्नेगरी सशस्त्र प्रहरीले १३ जनाको रेस्क्यु टोली रहने गरी टावर निर्माण गरेको हो । सशस्त्र प्रहरी बलको कालिका गणको विशेष पहल र कम्युनिटी सर्पोट गु्रप अन्तर्गत करिब १५ लाख रुपैयाँको लागतमा ३२ फिट अग्लो टावर निर्माण गरिएको छ । टावरबाट तालको चारैतिर अवलोकन गर्न सकिने जनाइएको छ ।