भारत–पाकिस्तानबीचको समस्याको समाधान शान्तिपूर्ण वार्ता

२०८२ बैशाख २४ गते, बुधबार


काठमाडौँ । प्रवासी नेपाल जनसमाज भारतले भारत–पाकिस्तानबीचको समस्याको समाधान शान्तिपूर्ण वार्तामार्फत मात्रै सम्भव भएको बताएको छ। प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीले एक बिज्ञप्ति जारी गर्दै पहलगाम आक्रमणप्रति गहिरो भत्सर्ना तथा क्षेत्रीय तनाबप्रति गम्भीर चिन्ता थपेको बताएका छन् ।
यस बिषयमा प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘२०२५ अप्रिल २२ मा भारतको जम्मु–कश्मीरस्थित लोकप्रिय पर्यटकीय गन्तव्य, पहलगाम नजिकैको बैसरान भ्यालीमा भएको चरमपन्थी आक्रमणप्रति हामी गहिरो दुःख, आक्रोश र भर्त्सना व्यक्त गर्दछौं। चरमपन्थी आक्रमणमा २६ जना निर्दोष पर्यटकहरू मारिएका छन् भने १७ जना घाइते भएका छन्। उक्त हमलामा मुख्य रूपमा हिन्दू पर्यटकहरूलाई लक्षित गरिएको देखिएको छ, यद्यपि एक जना ख्रिस्टियन पर्यटक र एक स्थानीय मुस्लिम नागरिक पनि मारिएका छन् । आक्रमणकारीहरू सैनिक पोशाकमा लुकेर घातक हतियार प्रयोग गरी पर्यटकहरूमाथि हमला गरेका थिए। उनीहरूले धर्मको आधारमा पुरुष पर्यटकहरूलाई छुट्याएर गोली प्रहार गरेका थिए, भने महिला र बालबालिकाहरूलाई बाँच्न अनुमति दिँदै घटनाको विवरण सुनाउन निर्देशन दिएका थिए।
यो आत्मघाती हमलामा भारतले पाकिस्तानमाथि आक्रमणमा संलग्नताको आरोप लगाउँदै आएकोछ भने जसलाई पाकिस्तानले अस्वीकार गरेकोछ। यस घटनाले दुई देशबीचको सम्बन्ध बिगतको भन्दा पनि थप तनावपूर्ण बनाएकोछ । विभिन्न संचरमाध्यमा आएका सूचना हेर्दा दुबै देशका शिर्ष नेताहरू वाकयुद्ध देखिन्छ । भारतका शीर्ष नेताहरूको चेतावनी अनुसार – “देशमाथि आँखा उठाउने विरुद्ध सेनासँग मिलेर कडा जवाफ दिइनेछ” – भन्ने अभिव्यक्तिसँगै भारत सरकारले आगामी मई ७ मा २४४ संवेदनशील जिल्लाहरूमा ‘सिभिल डिफेन्स’ अभ्यास सञ्चालनको निर्देशन दिएको छ। अर्कोतर्फ, पाकिस्तानका शीर्ष नेताहरूको चेतावनी अनुसार – “भारतले यदि पाकिस्तानको पानी रोक्ने प्रयास गरेमा त्यसको संरचना ध्वस्त पारिने चेतावनी दिइएकोछ। यी दुवै अभिव्यक्तिहरूले भारत–पाकिस्तानबीचको तीव्र द्वन्द्व र सम्भावित सैन्य टकरावको सङ्केत गर्दछ। यदि अवस्था आणविक वा परम्परागत युद्धतर्फ उन्मुख भयो भने, सीमावर्ती क्षेत्रका शहरहरू मात्र होइन, भारतमा कार्यरत वा बसोबास गरिरहेका नेपाली नागरिकहरू पनि प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुन सक्छन् । अतः हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पूर्ण सतर्कता अपनाउन, आवश्यक सम्पर्कमा रहन, र प्रवासी नेपाली जनसमाज भारत तथा अन्य नेपाली संघसंस्थाहरूको सहकार्यमा रहन हार्दिक अनुरोध गर्दछौं।
हामी विश्वास गर्छौं कि यस्तो जटिल समस्याको समाधान शान्तिपूर्ण वार्ता मार्फत मात्रै सम्भव छ। त्यसैले, हामी सम्बन्धित सबै पक्षहरूलाई संयमता अपनाई, द्वन्द्व होइन संवादमार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गर्दछौं साथै आक्रमणमा संलग्न वास्तविक दोषीको खोजी गरि कडा भन्दा कडा कार्वाही गर्न हामी दुबै देशलाई हार्दिक अनुरोध गर्दछौ ।’

प्रतिक्रियाहरु

[anycomment]