नेकपा कञ्चनपुरले बैंक तथा लघुवित्तको ज्यादतीविरुद्ध संघर्ष गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले मीटरब्याजिको अवैध धन्दा, लघवित्तको उत्पीडन र बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न संघर्ष गर्ने बताएको छ । नेकपा कञ्चनपुरका इन्चार्ज विराट सी र सेक्रेटरी दिवार सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लघुवित्त तथा बैंकका कर्मचारीले किस्ता उठाउने नाममा जबरजस्ती गरेर जनतालाई निरुत्साहित र आत्महत्या गर्न बाध्य बनाइरहेको हुँदा यस्तो ज्यादती नरोकिँदासम्म आन्दोलन निरन्तर रहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आफ्नो पार्टीले जनताका मागहरु लिएर बुझाउँदा त्यसको पनि ध्यानाकर्षण नभएको र प्रशासन पनि माफियासँग मिलेको नेकपाको आरोप छ । चैत्र १९ गते राति नेपाल भारत नाका गड्डाचौकीमा चार जना नेपाली नागरिक भीमदत्त नगरपालिका वडा नं. १० बस्ने सुरेन्द्र कार्की, रमेश गिरी, रतन ठकुराठी, गोविन्द जैसी लगायतलाई भारतीय एस.एस.बी. द्वारा भएको निर्घात कुटपिटप्रति पनि थप गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपाले आपत्ति जनाएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज विराट सी र सेक्रेटरी दिवार सी ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी विगत लामो समय देखि जनताका आधारभूत समस्या समाधानको निम्ति वैज्ञानिक समाजवाद प्राप्ति र पूर्ण रुपमा असफल सावित भ्रष्ट, दलाल, पुँजीवादी, संसदीय व्यवस्थाको विरुद्धमा निरन्तर संघर्षमा रहेको यहाँहरुलाई अवगत नै छ। आज नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अधिकार स्थापित हुनुको सट्टा कष्टकर जीवन जीउन बाध्य भइरहेका छन् । नेपाल सरकारका सेवा प्रवाह गर्ने निकाय जनताको आधारभूत समस्या समाधान गर्नुको सट्टा बेलगाम लुट खसौट मच्चाइ रहेका छन् ।
कञ्चनपुर जिल्लामा समेत आम नागरिकको जनजीवन थप जटिल बन्दै गइरहेको छ । बैङ्कको चर्को ब्याजदर, लघुवित्तको चरम उत्पीडन र मिटर ब्याजीहरुको अबैध धन्दा र नेपाल-भारत सीमानाका गड्डाचौकीमा पटक-पटक भारतीय एस.एस.बी. द्वारा नेपाली नागरिक माथि कुटपिट र अभद्र व्यवहार हुँदै आइरहेको छ र यही चैत्र १९ गते राती चार जना नेपाली नागरिक भीमदत्त नगरपालिका वार्ड नं. १० बस्ने सुरेन्द्र कार्की, रमेश गिरी, रतन ठकुराठी, गोविन्द जैसी लगायतलाई निर्घात कुटपिट गरेको घटना प्रति हाम्रो पार्टीको थप गम्भीर ध्यान आकर्षण भएको छ । हाम्रो पार्टी जनतन्त्र, जनजीविका र राष्ट्रियताको विषयलाई लिएर शान्तिपूर्ण संघर्षमा होमी रहेको यहाँहरुलाई थप जानकारी गराउन चाहन्छौँ । जिल्लाव्यापी रुपमा लघुवित्तको चरम ‘उत्पीडनले गरिवहरुको उठिबास सहित महिलाहरु निरुत्साहित भएर आत्महत्या गर्न बाध्य भइरहेका छन् । हाम्रो पार्टीको आन्दोलन देशव्यापी रुपमा तीव्रतर रुपमा बढिरहेको छ । जहाँसम्म बैङ्ग र लघुवित्तको व्याजदर १ अंकमा कायम हुँदैन, सेवा शुल्क, बिमा शुल्क तथा अन्य शुल्कहरु पूर्णरुपमा खारेज हुँदैन, आन्दोलन निरन्तर जारी रहने जानकारी गराउन चाहन्छौँ । आन्दोलनको क्रममा लघुवित्तका कर्मचारीहरुले व्याज असुल उपर गर्न जनतालाई धाक धम्की र जबरजस्ती नगर्न फेरि पनि अनुरोध गर्दछौँ । साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बुझाएको ११ बुँदै ज्ञापन पत्रमा समेत कुनै पनि सुनुवाई नभएको हुँदा प्रशासन पनि माफियासँग मिलिरहेको कुरा थप प्रस्ट हुन आउँछ । अब उप्रान्त यस्ता खालका यातिविधि नियन्त्रण गर्न अपील गर्दछौँ । अन्यथा पार्टी थप नयाँ ढङ्गबाट संघर्ष गर्न बाध्य हुनेछ ।