इजरायलद्वारा स्याहार केन्द्रका २३०० नेपाली कामदार माग

२०८३ जेष्ठ १३ गते, बुधबार


काठमाडौँ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार पठाउन आवेदन आह्वान गरेको छ। विभागले प्रकाशित गरेको सूचनाअनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन विभागको वेब पोर्टलमा दर्ता गर्नुपर्नेछ। अनलाइन आवेदन २०८३ जेठ १७ गते राति १२ बजेदेखि खुल्नेछ भने असार ७ गते राति १२ बजेसम्म आवेदन दिन सकिनेछ। यस पटक इजरायलले कुल २३०० जना सहायक कामदार माग गरेको छ। जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहनेछन्। छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा एनआईएस तलब पाउनेछन्। ओभरटाइम सुविधा इजरायली कानुन अनुसार उपलब्ध हुनेछ। कामदारले सातामा बढीमा ६ दिन काम गर्नुपर्नेछ। नियमित कामको समय सातामा ४२ घण्टा तोकिएको छ। अतिरिक्त समय काम गरेमा छुट्टै सुविधा दिइनेछ। वार्षिक बिदा पनि इजरायली कानुन अनुसार हुनेछ। खानाको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ। बसोबासको व्यवस्था रोजगारदाताले गर्ने भए पनि त्यसको खर्च कामदारले नै तिर्नुपर्ने विभागले जनाएको छ। सुरुमा एक वर्षको करार हुनेछ। आवश्यकता अनुसार करार थप गर्न सकिनेछ। अधिकतम ५ वर्षसम्म काम गर्न पाउने व्यवस्था गरिएको छ।
आवेदक नेपाली नागरिक हुनुपर्नेछ। उमेर कम्तीमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदकको उचाइ कम्तीमा १.५ मिटर र तौल कम्तीमा ४५ किलोग्राम हुनुपर्नेछ। शैक्षिक योग्यताअनुसार कम्तीमा कक्षा १० उत्तीर्ण गरी एएनएम वा सीएमए विषयमा १५ महिनाको अध्ययन पूरा गरेको हुनुपर्नेछ। अथवा प्लस टू वा सो सरह उत्तीर्ण गरी नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा ३ महिनाको केयर गिभिङ तालिम लिएको हुनुपर्नेछ।
यसअघि इजरायलमा काम गर्न नगएको व्यक्ति मात्र आवेदनका लागि योग्य हुनेछन्। साथै बाबु, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ। आवेदक शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्नेछ। क्षयरोग, हेपाटाइटिस, मिरिगी, गोनेरिया र एड्सजस्ता दीर्घ रोगबाट ग्रसित नभएको हुनुपर्नेछ। भारी सामान उठाउन सक्ने क्षमता भएको र कुनै प्रकारको दुर्व्यसनमा नलागेको हुनुपर्ने विभागले जनाएको छ। पासपोर्टको म्याद आवेदन प्रक्रिया सुरु हुँदाको मितिबाट कम्तीमा ३ वर्ष बाँकी हुनुपर्नेछ। आवेदन दिँदा पासपोर्ट, प्रहरी चरित्र प्रमाणपत्र र अन्य आवश्यक कागजात स्क्यान गरेर अपलोड गर्नुपर्नेछ। उम्मेदवारले अंग्रेजी भाषा परीक्षणको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ। इजरायलको पिबाले तोकेको काठमाडौंको त्रिपुरेश्वरस्थित सीआइआइएन इन्टरनेसनल क्वालिफिकेसनबाट लिइएको क्याम्ब्रिज अपस्किल इङ्लिस टेस्टको प्रमाणपत्र अनिवार्य गरिएको छ।
विभागले आवेदन स्वीकृत वा अस्वीकृतसम्बन्धी जानकारी मोबाइल नम्बर वा इमेलमार्फत पठाइने जनाएको छ। आवश्यक कागजात अपलोड नगरेमा आवेदन स्वतः रद्द हुनेछ। आवेदकले स्वघोषणा फाराम र गोपनीयतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेर अपलोड गर्नुपर्नेछ। उचाइ र तौलसम्बन्धी गलत विवरण पेश गरेमा उम्मेदवार स्वतः रोष्टरबाट हटाइनेछ। गलत विवरण वा नक्कली प्रमाण फेला परे कानुनअनुसार कारबाही हुने चेतावनी पनि विभागले दिएको छ। छनोट प्रक्रिया विभिन्न चरणमा हुनेछ। पहिलो चरणमा एफईआरएमएस प्रणालीबाट स्वीकृत उम्मेदवारको सूची तयार गरिनेछ।
त्यसपछि छनोट समितिले योग्य उम्मेदवारको अन्तिम रोष्टर तयार गरी पिबामा नाम जाँचका लागि पठाउनेछ। पिबाको जाँचमा सफल भएका उम्मेदवारको नाम विभागको वेबसाइटमा प्रकाशित गरिनेछ। अन्तिम चरणमा इजरायल पक्षले लटरी प्रणालीमार्फत आवश्यक कामदार छनोट गर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ९.२४ अंकले घट्यो

२०८३ जेष्ठ १२ गते, मंगलवार

४ सय ७५ केजी गाँजा बरामद

२०८३ जेष्ठ १२ गते, मंगलवार

नेप्से २७.८५ अंकले बढ्यो

२०८३ जेष्ठ ११ गते, सोमबार