बजार अनुगमन तिब्र, झन्डै पाँच दर्जन कर्मचारी परिचालन
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तिब्र बनाएको जनाएको छ । विभागले कृत्रिम अभाव हुन नदिइ उपभोक्तालाई सहज रूपमा उपभोग्य वस्तु उपलब्ध गराउन र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन मन्त्रालय र मातहतका निकायबाट थप कर्मचारी परिचालन गरी बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमन गरिरहेको छ।
वाणिज्य विभागका महानिर्देशक रितेशकुमार शाक्यले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपभोग्य वस्तुको सहज आपूर्ति तथा व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए। उनकाअनुसार काठमाडौं उपत्यकामा नियमित अनुगमन टोलीबाहेक मन्त्रालय र मातहतका निकायबाट ५० जना थप कर्मचारी परिचालन गरिएको छ।
उनकाअनुसार बजार अनुगमनका लागि वाणिज्य विभागमात्रै नभई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा प्रदेशका सम्बन्धित निकायसमेत परिचालित छन्। उपभोक्ता संरक्षण ऐनअन्तर्गत जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिले पनि अनुगमन गरिरहेको छ। विभागले आफ्नै संयन्त्रबाट नियमित अनुगमन गर्नुका साथै विषयअनुसार सम्बन्धित निकायलाई नेतृत्व दिएर संयुक्त अनुगमनसमेत गर्दै आएको छ।
हाल काठमाडौं उपत्यकामा दैनिक करिव १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेको शाक्यले जानकारी दिनुभयो। तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमन गर्न खटिने गरेका छन् भने अन्य टोलीले छुट्टाछुट्टै क्षेत्र निर्धारण गरी बजार अनुगमन गर्छन्।
