कम्पनी अद्यावधिक गर्ने समयसीमा थप

२०८३ कार्तिक १९ गते, बिहीबार


काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप भएको छ । यसअघि कात्तिक मसान्तसम्म रहेको म्याद दुई महिना बढाइएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको कर, शुल्क तथा दस्तुर बुझाएमा सोभन्दा अघिका आर्थिक वर्षको सबै कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ ।
यसैबीच, नेपालमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा गत आव २०८२/८३ मा २६ हजार २९१ पुगेका छन् । यो अघिल्लो वर्षको तुलनामा ५ हजार ५५५ ले बढी हो । चालु आवको कात्तिक १२ गतेसम्म थप १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन् ।
कार्यालयका रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले विदेशबाट फर्किएका नेपालीले सीप, प्रविधि र पुँजी स्वदेशमा लगानी गर्न थालेसँगै कम्पनी दर्ता बढेको बताए ।
कार्यालयका अनुसार हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० वटा खारेज भएका छन् । कार्यालयले कम्पनी दर्ता, नियमन, वार्षिक विवरण तथा वास्तविक धनीको अभिलेख व्यवस्थापनका साथै खारेजीसम्बन्धी काम गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

राष्ट्र बैंक सुन र चाँदीका सिक्का बेच्दै

२०८३ कार्तिक १९ गते, बिहीबार

नेप्से परिसूचक ६.६२ अंकले बढ्यो

२०८३ कार्तिक १७ गते, मंगलवार

तिहार विशेष रैथाने मेला कात्तिक २१ देखि

२०८३ कार्तिक १७ गते, मंगलवार

नेप्से ३२.६५ अंकले घट्यो

२०८३ कार्तिक १६ गते, सोमबार