३ बुँदे सहमति कार्यान्वन गर्न आलटाल नगर
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव छैन भन्दै शान्तिपूर्ण ढंगले जनसंघर्ष गर्दै आएको नेकपामाथि प्रतिबन्ध लगाएपछि आमप्रगतिशील, सच्चा लोकतान्त्रिक र राष्ट्रवादी राजनीतिक दल, नेता र स्वाभिमानी जनताले सरकारको उक्त कदमको खुलेर विरोध गरेका थिए । उक्त पार्टीमा प्रतिबन्ध लगाउनुको कारण पुष्टि गर्न नसकेपछि सोही सरकार अन्ततः २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी नेकपामाथिको प्रतिबन्ध हटाएको घोषणा गर्न बाध्य भयो ।
उक्त कार्यक्रमा नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको र पार्टीमाथिको प्रतिबन्ध खारेज भएको घोषणा गरिएको थियो । उक्त ३ बुँदे सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्ने, नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको थियो ।
उक्त सहमतिको नेकपाले अक्षरशः पालना गरेपनि सरकारले पालना गरेका छैन। जसका कारण अहिले पनि नेकपाका दर्जनभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् भने दर्जनौले भूmठा मुद्दा खेपिरहेका छन् । ३ बुँदे सहमति भएको साढे ३ वर्ष नाघी सक्दा समेत नेपाल कम्युनिस्ट पार्टी धैर्यवान हुँदै उक्त सहमति कार्यान्वयन गर्न हरेक सरकारलाई झक्झक्याउदै आएको छ । नेपाल कम्युनिष्ट पार्टीको यो धैर्यतालाई सरकारले कमजोरीको रुपमा नलिई तत्काल उक्त ३ बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्नु पर्दछ । अन्यथा, नेपाल कम्युनिष्ट पार्टीको धैर्यताको बाँध फुट्न सक्छ र शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको सो पार्टी पुनः जनसंघर्षमा होमिन सक्छ । यदि नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सडकमा जान बाध्य परेमा त्यसको सम्पूर्ण दोष सरकारलाई नै जाने निश्चित छ ।
तसर्थः सरकारले नेपाल कम्युनिष्ट पार्टीसँग गरेको ३ बुँदे सहमति अक्षरश ः कार्यान्वयन गर्दै देशका तमाम क्रान्तिकारी, सच्चा लोकतान्त्रिक र राष्ट्रभक्त दलहरुसँग सहमति र सहकार्य गर्दै वर्तमान राजनीतिक संकटको अग्रगामी निकास खोज्नुको विकल्प छैन । अन्यथा देश पुनः द्वन्दमा फस्ने निश्चित छ, चेतना भया ।