चीन विरोधी हर्कत बन्द गर
सरकारी निकायसँग औपचारिक रुपमा स्वीकृत लिएर नेपालमा दलाई लामाको ९१ औँ जन्मोत्सव मनाइएको र सो–सो कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको समाचार सार्वजनिक भएको छ । नेपाल एक सार्वभौम र लोकतान्त्रिक मुलुक भएकाले यहाँ मानवअधिकार र सांस्कृतिक स्वतन्त्रताका कुराहरू उठ्ने गर्छन् । तिब्बती शरणार्थीहरूले धार्मिक वा सांस्कृतिक रूपमा पूजापाठ गर्नु एउटा पाटो भए पनि त्यसले राजनीतिक रूप लिँदा छिमेकीसँगको सम्बन्ध बिग्रने खतरा हुन्छ । त्यसैले, नेपालले आफ्नो भूमिलाई कुनै पनि छिमेकी मित्रराष्ट्रको विरुद्धमा प्रयोग हुन नदिने नीतिलाई व्यवहारमै कडाइका साथ लागू गर्नुपर्छ । चीनको सुरक्षा चासोलाई सम्मान गर्दै आफ्नो राष्ट्रिय हित र कूटनीतिक सन्तुलन कायम राख्नु नै नेपालका लागि बुद्धिमानी हुन्छ ।
नेपाल र चीनबीचको सम्बन्ध सदियौँ पुरानो, शान्तिपूर्ण र आपसी विश्वासमा आधारित छ । भौगोलिक रूपमा जोडिएका दुई छिमेकी मुलुकहरूबीचको यो सम्बन्धलाई बलियो बनाउने सबैभन्दा महत्वपूर्ण आधार स्तम्भ भनेकै ‘एक चीन नीति’ प्रति नेपालको दृढ प्रतिवद्धता हो । हालैका दिनहरूमा अन्तर्राष्ट्रिय भू–राजनीतिक खिचातानी बढ्दै जाँदा, नेपालले आफ्नो यो घोषित नीतिमा कति पनि विचलित नभई छिमेकीलाई चिढ्याउने वा शंका उत्पन्न गराउने कुनै पनि गतिविधि गर्नु हुँदैन भन्ने बहस झन् सान्दर्भिक बनेको छ ।
‘एक चीन नीति’ अन्तर्गत नेपालले बेइजिङस्थित जनवादी गणतन्त्र चीन ९एच्ऋ० लाई नै सम्पूर्ण चीनको एकमात्र वैधानिक सरकार मान्दछ । यसअन्तर्गत ताइवान र तिब्बत चीनका अभिन्न अंग हुन् भन्ने कुरामा नेपाल स्पष्ट छ । नेपालले सुरुदेखि नै अपनाउँदै आएको यो नीति केवल एउटा औपचारिक कूटनीतिक शब्द मात्र होइन, यो नेपालको परराष्ट्र नीतिको एउटा अपरिवर्तनीय सिद्धान्त हो ।
छिमेकी राष्ट्र चीन विशेषगरी तिब्बत र ताइवानको मामिलामा अत्यन्तै संवेदनशील छ । यस्तो अवस्थामा नेपालले आफ्नो भूमिबाट चीनको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धतालाई व्यवहारमा पूर्ण रूपमा लागू गर्नुपर्छ ।
नेपाल जस्तो भू–परिवेष्ठित र दुई ठूला शक्तिराष्ट्रहरूको बीचमा रहेको मुलुकका लागि सन्तुलित परराष्ट्र नीति कायम राख्नु जीवनमरणको सवाल हो । चीनलाई जिस्काउने वा उसको संवेदनशीलतालाई नजरअंदाज गर्ने खालका गतिविधिले विभिन्न खतराहरू निम्त्याउन सक्छ ।
यदि नेपालको भूमि वा नेपाली संयन्त्रबाट चीनविरोधी गतिविधि भयो वा त्यस्ता तत्वहरूलाई प्रश्रय मिल्यो भने वर्षौंदेखि आर्जित विश्वास क्षणभरमै गुम्न सक्छ । चीन नेपालको प्रमुख विकास साझेदार, ठूलो वैदेशिक लगानीकर्ता र व्यापारिक साझेदार हो । सम्बन्धमा दरार आउँदा नेपालको आर्थिक विकास र सीमापार कनेक्टिभिटीका आयोजनाहरू सुस्त हुन सक्छन् । नेपाल यदि कुनै पनि शक्तिराष्ट्रको रणनीतिक गोटी बन्यो भने यसले देशलाई स्थायी अस्थिरतातर्फ धकेल्न सक्छ ।
नेपालले आफ्ना सबै अन्तर्राष्ट्रिय मित्रहरूसँग सम्बन्ध विस्तार गर्नुपर्छ, तर त्यो सम्बन्ध कुनै अर्को छिमेकी देशको हितविपरीत हुनु हुँदैन । ‘संसययुक्त व्यवहार’ ले कसैको हित गर्दैन । तसर्थः नेपालका राजनीतिक दल, सरकार, सञ्चारमाध्यम र नागरिक समाज सबैले चीनसँगको सम्बन्धको गहिराइ र संवेदनशीलतालाई बुझ्न जरुरी छ । चिनियाँ चासो र सुरक्षा चिन्तालाई सम्बोधन गर्दै, आफ्नो तर्फबाट कुनै पनि असमझदारी पैदा हुन नदिनु नै नेपालको बुद्धिमानी हुनेछ । छिमेकीलाई चिढ्याएर होइन, बरु उसको विश्वास जितेर नै नेपालले आफ्नो राष्ट्रिय हित र समृद्धि हासिल गर्न सक्छ ।
चीनले दलाई लामाको नेतृत्वको आन्दोलनलाई पृथकतावादी गतिविधिका रूपमा हेर्दछ । तिब्बतको मामिला चीनका लागि सबैभन्दा संवेदनशील विषय हो । नेपालमा दलाई लामाको जन्मोत्सव वा अन्य कुनै राजनीतिक गतिविधि सार्वजनिक रूपमा मनाइँदा चीनले त्यसलाई आफ्नो सार्वभौमसत्ता र सुरक्षामाथिको चुनौतीका रूपमा लिन्छ । नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा र द्विपक्षीय रूपमा पनि ‘एक चीन नीति’ प्रति आफ्नो दृढ प्रतिवद्धता जनाउँदै आएको छ । यसअन्तर्गत नेपालको भूमि चीनविरोधी गतिविधिका लागि प्रयोग हुन नदिने मुख्य सर्त रहन्छ । यदि नेपालमा चिनियाँ संवेदनशीलता विपरीतका गतिविधिहरू सहज रूपमा हुन थालेमा चीनले नेपालको कूटनीतिक प्रतिबद्धता र विश्वसनीयतामाथि शंका गर्न सक्छ । यसले गर्दा चीन नेपालप्रति अनुदार वा सशंकित बन्न सक्ने सम्भावना रहन्छ, चेतना भया ।
