शिक्षक आन्दोलन नरोकिने

२०८२ बैशाख ३ गते, बुधबार


काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको आन्दोलन नरोकिने बताएका छन । उनले आन्दोलन जारी रहेको भन्दै बुधबार पनि नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्। केही बेरअघि सामाजिक सञ्जालमा लेखेर सुवेदीले आफूहरूले उठाएका मागप्रति राज्य अझै अनुदार रहेको भन्दै आन्दोलन निर्णायक मोडमा आइपुगेको प्रतिक्रिया दिएका छन्। ‘ हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ बढी प्रतिबद्धता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन’, उनले लेखेका छन्, ‘अब हामी निर्णायक मोडमा आइपुगेका छौँ। ’
सुवेदीले आन्दोलन अझ सशक्त बनाउन दशभरका शिक्षकलाई आह्वान गरेका छन्। अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनसमेत शिक्षकहरूलाई आग्रह गरेका छन्।
यसैगरी, शिक्षक महासंघ सह-अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमैया पराजुलीले सबै शिक्षकलाई झुटो हल्लाका पछाडि नलाग्न अनुरोध गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकी छन्- ‘आदारणीय शिक्षक कर्मचारी साथीहरू , झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध छ । नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बीचमा गत २०८० आश्विन ५ र १२ गते सम्पन्न सम्झौता बमोजिम मन्त्रिपरिषद बाट सम्बोधन गर्नुपर्ने माग मुद्दालाई बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाइ प्रतिगामी शिक्षा ऐन जारी गर्दै नेपालको सार्वजनिक शिक्षालाई पूर्ण रुपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको हुनाले सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरू अझै उच्च मनोबल, धैर्यता र ऊर्जाको साथ संघर्षको मैदानमा डटिरहन र सम्पूर्ण साथीहरू कुनै बहानावाजी नगरी काठमाडौं केन्द्रित हुन र निर्णायक आन्दोलन हो भन्दै मनन गर्न हार्दिक अनुरोध गर्दछु।’
उनले मेरो आन्दोलन, मेरो सहभागिता
बलियो सहभागिता, बलियो आन्दोलन
बलियो आन्दोलन, बलियो उपलब्धि
कि जितिन्छ, कि बितिन्छ भन्दै सबैलाई आन्दोलनमा सक्रिय हुन थप आग्रह गरेकी छन्।
देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिस्कार गरेका छन्।
यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको थियो। संघीय संसदमा विचाराधीन विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरेको सरकारले बताएको छ।

प्रतिक्रियाहरु

[anycomment]