एसईई परीक्षाको तयारी पूरा
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले एसईई परीक्षाको तयारी भएको बताएको छ । एसईई परीक्षा चैत १९ गते बिहीबारदेखि एसईई परीक्षा सुरु हुँदैछ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ ।
परीक्षा सञ्चालन हुनुअघि शिक्षा मन्त्री पोखरेल सहित प्रदेश र जिल्लाका सम्बन्धित अधिकारीहरुको भर्चुअल बैठक समेत बसेको छ । परीक्षा नियन्त्रक अधिकारीले भने -‘तयारी सकिएको छ । भोलि परीक्षा हुन्छ । प्रदेश र जिल्लासँग हिजो भर्चुअल बैठक पनि भयो । सबै तयारी पूरा भएको ७७ वटै जिल्लाबाट जानकारी आएको छ। ’
उनका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको छ । केन्द्राध्यक्षहरु पनि नियुक्त भएर सम्बन्धित केन्द्रमा पुगेका छन् । परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटिने छ ।
यस वर्षको एसईई परीक्षा सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको छ । एउटा केन्द्र जापानमा छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । बोर्डका अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । एसईईलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्नका लागि बोर्डले सबैलाई आग्रह पनि गरेको छ ।
यसैगरी, एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने- ‘नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन छ । त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको छ। ’
जुन परीक्षा केन्द्रमा शिक्षक नभएमा वा असुरक्षित महसुस भएमा शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को ठाउँबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षा नियन्त्रक अधिकारीले भने- ‘शिक्षक नभएको र असुरक्षित ठाउँको परीक्षण केन्द्र सार्न सकिन्छअरुको हकमा परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण हुन्छ ।’
अघिल्ला वर्षहरूमा गोप्यरुपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो । साथै एउटा प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गर्ने गरिएको थियो । यसपालि सम्बन्धित परीक्षा केन्द्रबाटै परीक्षण हुन लागेको हो ।
