संयुक्त विद्यार्थी संगठनद्वारा काठमाडौंमा सद्भाव र्याली
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले काठमाडौँमा सद्भाव र्याली निकालेका छन्। उनीहरुले सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशमा उत्पन्न परिस्थितिबीच ‘हातेमालो गरौं, देश बनाऔं’ भन्ने नारासहित काठमाडौंमा सद्भाव र्याली निकालेका हुन् ।
र्यालीमा सहभागीहरूले ‘हिमाल, पहाड, तराईं, कोही छैन पराइ’, ‘हिन्दु–मुस्लिम दाजुभाइ, कोही छैन पराइ’, ‘नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
र्यालीमा सहभागी विद्यार्थी नेताहरूले देशका विभिन्न स्थानमा देखिएको अशान्ति र हिंसात्मक घटनाप्रति सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । उनीहरूले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको भन्दै गृहमन्त्रीको नैतिक जिम्मेवारी रहेको उल्लेख गर्दै राजीनामाको मागसमेत गरेका छन् ।
सुनसरीको कप्तानगञ्ज घटनापछि चर्किएको आन्दोलनले मधेस प्रदेशका विभिन्न जिल्ला अशान्त बनेपछि देशका विभिन्न स्थानमा सद्भाव र्याली आयोजना गरिएको छ।
