नयाँ प्रजातिको चरा ‘बैजनी कोइली’ !

काठमाडौँ । चराविद् राजेन्द्र गुरुङसहितको टोलीले लामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला पारेका छन । यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको छ । यससँगै नेपालको अभिलेखमा चरा प्रजातिको संख्या ८९९ पुगेको छ ।
गएको चैत २५ मा नेपालका चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा समुन्द्र सतहबाट तीन सय मिटर उचाइमा रहेको सुखानी वन क्षेत्रका उक्त चरा फेला पारेको थियो ।
गुरुङको साथमा मलेसियाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा पनि रहेका थिए । साथै सो टोलीमा नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए । बिहान ११ बजेतिर देखा परेको उक्त चरा भ्वाइलेट कुक्कुु भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । थप पुष्टिका लागि उनीहरुले आफूले खिचेको चराका फोटो र भिडियो चैत २८ मा नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।
प्राप्त विवरणहरुको अध्ययन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुसँगको रायसुझावका आधारमा सो चरा नेपालका लागि नयाँ प्रजातिको रुपमा पुष्टि भएको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुलसी सुवेदीले बताए । सो चराको अंग्रेजी नाम भ्याइलेट कुक्कु र नेपाली नाम ‘बैजनी कोइली’ राखिएको छ ।