‘देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरु समाजवादी गणतन्त्रमा जानैपर्छ’

२०८२ बैशाख ७ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरु समाजवादी गणतन्त्रमा जानै पर्ने ठोकुवा गरेका छन् । देशको वर्तमान संकटको निकास के हुन् सक्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता प्रकाण्ड सीले सो ठोकुवा गरेका हुन् ।

प्रवक्ता प्रकाण्ड सीले भने– ‘महान दशवर्षे जनयुद्ध र जनआन्दोलनको बलमा २१ वर्ष पहिले, विधिवत रुपमा १८ वर्ष पहिले नेपाली जनताले सत्ताबाट न्याकेका सामन्ती शासकहरु उपयुक्त समय पाउँदा पुनः सत्तामा फर्किने मुर्खता गरिरहन्छन । यो नयाँ र अनौठो विषय पनि भएन । मुख्य समस्या त दलाल पूँजीवाद र दलाल लोकतन्त्र हो जसले राजावादी बाँदरलाई लिस्नो दियो । दलाल पूँजीवाद र सामन्ती प्रतिगामी हर्कतका विरुद्धको निर्णायक संघर्ष र समाजवादी गणतन्त्रको स्थापना नै विधमान समस्याको सही समाधान हो ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले शासकहरुको नालायकीपन र दलाल संसदीय व्यवस्थाको जनविरोधी चरित्रका कारण देश गंभिर र जटिल मोडमा प्रवेश गरेको ठोकुवा गर्दै भने– ‘दलालहरुद्धारा गरिएको गणतन्त्रको उपहास नै नेपाली जनताको आक्रोशको उत्कर्ष र साम्राज्यवादीहरुको पछिल्लो षड्यन्त्र एवं हस्तक्षेपको आधार बन्न पुग्यो । साम्राज्यवादीहरुले षड्यन्त्रको हतियार सामन्ती तत्व र सामन्तवादीहरुलाई बनाए । सामन्ती तत्वहरुले २३८ वर्षसम्म नेपाली जनता र देशका विरुद्ध गरेको अपराधलाई ढाकछोप गरेर महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको उपलव्धी गणतन्त्र र जारी जनक्रान्तिका विरुद्ध प्रश्न उठाउँदै वर्वरता र अराजकता मच्चाउने दुस्साहस गरिरहेका छन् । यतिबेला गणतन्त्रको रक्षाको प्रश्न मुख्य बनेको छ । गणतन्त्रका मुख्य दुस्मन साम्राज्यवाद, दलाल पूँजीवाद र सामन्ती प्रतिगामी तत्वहरु बन्न पुगेका छन् । गणतन्त्रको रक्षा गर्नु भनेको उपरोक्त तिनवटा तत्वहरुका विरुद्धको संघर्ष र राष्ट्रिय विजयको सवाल हो ।

जनयुद्ध र जनआन्दोलनका उपलव्धीको रक्षार्थ गणतन्त्रलाई समाजवादी गणतन्त्रमा विकास गरि दलाल पूँजीवाद र लोकतान्त्रिक गणतन्त्रले पैदा गरेका गंभिर समस्याको समाधान जरुरी छ । नेपाली विशेषताको समाजवादी गणतन्त्रको राजनीतिक कार्यक्रमलाई राष्ट्रिय रुपमा अगाडि सारेर नेपाल कम्युनिष्ट पार्टीले राजनीति र संघर्षका क्षेत्रमा नेतृत्व प्रदान गर्नेछ ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले दलाल पूँजीवादी संसदीय व्यवस्था र दलाल संचालकका कारण देश र जनताको जीवनमा पैदा भएका समस्याको वस्तुनिष्ट समाधान जनताको राज्य व्यवस्था र देश एवं जनता प्रति इमान्दार र समर्पित नेतृत्व भएको ठोकुवा गर्दै भने– ‘नेपाली विशेषताको समाजवादी गणतन्त्र र नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व हो । यसका निम्ति पार्टी पुरै तागतका साथ लागि परेको छ ।’

यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशलाई नेपाली विशेषताको समाजवादी गणतन्त्रमा लिनु बाहेक विधमान समस्याको समाधान गर्ने अर्को तात्कालीक कार्यक्रम नै नभएको बताउँदै भने– ‘देश र नेपाली जनताको हित चाहने पार्टी र शक्तिहरु समाजवादी गणतन्त्रमा जानैपर्छ । नेपाली विशेषताको समाजवादी व्यवस्था निकट भविष्यको विषय बन्दै गएको छ । यो संभव मात्र होइन अनिवार्य भइसक्यो ।’

प्रतिक्रियाहरु

[anycomment]