‘साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागि परेको छ’

२०८३ जेष्ठ १५ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले नेपालमा अस्थिरता मच्चाउन साम्राज्यवाद कम्युनिस्ट आन्दोलनलाई नामेट पार्न लागि परेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बागमती प्रदेशद्वारा बिहिबार आयोजित राजनीतिक–वैचारिक प्रशिक्षण तथा जनसम्बन्ध विस्तार अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले भने- ‘हामीले साम्राज्यवादको योजनाका बिषयमा सबै कम्युनिस्ट धारसँग छलफल र मिलेर लड्न आह्वान गर्यौं। तर संसदवादी कम्युनिस्ट पार्टीले पत्याएनन। नेकपा (एमाले) र प्रचण्डहरू हाम्रो कुरा सुन्न तयार भएनन् । तथ्य सहित हामीले अनुमान गरेको कुरा परिणामले पुष्टि गर्‍यो। गएको फागुन २१ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरू पराजित हुन पुगे। नेपाल अहिले हामीले पुर्वअनुमान गरेको राजनीतिक परिस्थितिमा उभिएको छ।’
यसैगरी, महासचिव विप्लव सीले नेपालमा अहिले दुर्गन्धित पश्चगामी हावा चलिरहेको बताउँदै आफ्नो पार्टी साम्राज्यवादी दुर्गन्धित हावाका विरुद्ध जोडतोडले लडिरहेको बताए। उनले कम्युनिस्ट पार्टीहरू मिलेर कम्युनिस्ट षड्यन्त्र विरुद्ध लड्नु पर्ने बताउँदै नयाँ वैचारिक प्रतिबद्धता जरुरी रहेको वताए ।
महासचिव विप्लव सीले नेपालमा अहिले पुँजीवादी हावा चलेको उल्लेख गर्दै यो हावाले समाजमा अनावश्यक भ्रम, निराशा र दुर्गन्धित राजनीतिक वातावरण फैलाइरहेको बताए ।उनले भने- ‘जनतालाई अन्योलमा पार्ने, क्रान्तिकारी विचारलाई कमजोर बनाउने र दलाल व्यवस्थालाई बलियो बनाउने उद्देश्यले यस्तो हावा चलाइएको छ । ‘
यसैगरी, महासचिव विप्लव सीले नेपालमा कम्युनिस्टहरू सकिए , “कम्युनिस्ट आन्दोलन समाप्त भयो भन्ने प्रचार सुनियोजित रूपमा फैलाइएको बताए । उनले कम्युनिस्ट विचार कहिल्यै पराजित नहुने भन्दै जनताको मुक्तिसँग जोडिएको विचारधारा भएकाले यसलाई समाप्त गर्न नसकिने बताए ।
महासचिव विप्लव सीले कम्युनिस्ट एकताबारे पनि धारणा राख्दै केवल नामको एकताले समाधान नदिने स्पष्ट पार्दै भने- “विचार, कार्यदिशा र नेतृत्वको आधारमा हुने एकताले मात्रै अहिलेको अव्यवस्था अन्त्य गर्न सक्छ । कम्युनिस्ट आन्दोलनभित्र वैचारिक स्पष्टता र जनतासँगको सम्बन्ध विस्तार अपरिहार्य रहेको छ ।’
यसैगरी, महासचिव विप्लव सीले वर्तमान सरकारप्रति पनि तीव्र असन्तुष्टि जनाउदै अहिलेको सरकार नवदलालहरूको सरकार भएको तथ्य प्रस्तुत गरे। उनले वर्तमान सरकार देश र जनताको नभएको संज्ञा दिंदै सुकुम्बासीमाथि भइरहेको दमन, जनअधिकारमाथिका हस्तक्षेप तथा राज्यको दमनकारी गतिविधिविरुद्ध संघर्ष आवश्यक रहेको बताए ।
महासचिव विप्लव सीले पार्टीको जनसम्बन्ध विस्तार अभियान जनतामा प्रत्यक्ष पुग्ने, सम्बन्ध विस्तार गर्ने र वैचारिक बहसलाई तीव्र बनाउने उद्देश्यसहित सञ्चालन गरिएको बताए ।
यसैगरी, महासचिव विप्लव सीले आफुले कम्युनिस्ट पार्टीहरू बीच एकता निकै जोड्तोडले पहल गरेको तर संसदीय पार्टी हरू केवल सत्ता र संसदीय सिट सुरक्षीत गर्न बाहेक कम्युनिस्ट क्रान्तिकारी आन्दोलनको रक्षा र बिकास बारे उदासीन रहेकाले एकता हुनु नसकेको बताए । उनले साम्राज्यवादले नेपालमा नाङ्गो हस्तक्षेप गरिरहेको बताउँदै साम्राज्यवादको निसानाको केन्द्र कम्युनिस्ट क्रान्तिकारी रहेकाले डटेर लड्नुको विकल्प नरहेको बताउँदै अन्तिम लडाईका लागि तयार रहन नेता -कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रतिक्रियाहरु

[anycomment]