प्रधानमन्त्री बालेनको सिमा सम्बन्धि अभिव्यक्तिबिरुद्ध संघर्षको उदघोष
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल भारत सिमानाका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिबिरुद्ध संघर्षको उद्घोष गरेको छ। सो पार्टीका प्रवक्ता प्रकाण्ड सीले आज एक बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र साहले नेपाल भारत सिमानाका सम्बन्धमा संसदमा दिएको अभिव्यक्तिबिरुद्ध संघर्षको उद्घोष गरेका हुन् ।
प्रवक्ता प्रकाण्ड सीले सिमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको जवाफ हाम्रो देशको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताका खिलाप भएको उल्लेख गर्दै यो अभिव्यक्ति नेपाल राष्ट्रको पहिचान र जनभावना विपरित भएको बताएका छन् ।
प्रवक्ता प्रकाण्ड सीले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल भारत सिमानाका सम्बन्धमा संसदमा दिएको अभिव्यक्ति यो सरकारको नवदलाल पुँजीवादी, चरम राष्ट्रघाती र जनघाती चरित्र आम राष्ट्रवादी नेपाली जनता र विश्व सामु उदांगिएको ठोकुवा समेत गरेका छन् ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले भनेका छन् – ‘प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति अन्जान र अस्पष्टताको उपज होईन, यो त हाम्रो राष्ट्रको भौगोलिक अखण्डता र स्वाधिनताका विरुद्ध साम्राज्यवादी षड्यन्त्रको नवदलाल सरकार मुखरित अभिव्यक्ति मात्र हो । यो षड्यन्त्र नेपाली जनता र हाम्रो पार्टीका निम्ति सहनीय छैन । यसको प्रतिवाद गर्न आज वेलुकी ७ बजे देशव्यापी मशाल जुलुस को कार्यक्रम घोषणा गर्दछौँ । उक्त कार्यक्रममा सहभागिताका निम्ति सिङ्गो पार्टीपंति र सम्पुर्ण देशभक्त नेपाली जनतामा पार्टी विशेष आह्वान गर्दछ ।’

