पदच्युत भएका झुण्डको स्यालहुइया औचित्यहीन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पार्टीबाट पदच्युत भएका झुण्डको स्यालहुइया अर्थहीन भएको बताएको छ । सो पार्टीबाट कारवाहीमा परेका केही व्यक्तिहरुले नेकपा (माओवादी) फुटाएको भन्दै दुष्प्रचार गरेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पार्टीबाट पदच्युत भएका झुण्डको स्यालहुइया औचित्यहीन भएको बताएको हो। सो पार्टीको गत असार २ गते सम्पन्न संगठन अधिवेशन आयोजक समितिको सचिवालय वैठकले केन्द्रीय सचिवालय सदस्य शिलु सी (उमा भुजेल) ले पार्टी कार्यदिशा र नीति विरुद्ध विचलनतावादी र पलायनवादी गुटवन्दी गर्नुका साथै पार्टी विचार, जनक्रान्ति र नेतृत्व विरुद्ध भड्काववादी गतिविधि संचालन गरेकाले पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरी पार्टीबाट निष्काशन गरेको थियो ।
यसैगरी, उक्त संगठन अधिवेशन आयोजक समितिको सचिवालय बैठकले पार्टीको विचार, कार्यदिशा, नीति पद्धति र अनुशासनको विरुद्ध वामपन्थी एकता अभियानमा पार्टीको नामबाट सहभागी भएका कारण असल सी (चन्द्रबहादुर खड्का) लाई केन्द्रीय कार्यालयले ०८३ जेठ २५ गते पार्टीको जिम्मेवारी र पार्टी सदस्य नरहने गरी गरेको कारवाहीको अनुमोदन गरेको थियो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को उक्त संगठन अधिवेशन आयोजक समितिको सचिवालय वैठकले पार्टी जिम्मेवारी वहन नगरी ठिक उल्टो गतिविधिमा संलग्न भएकाले रुपन्देही ईन्चार्ज प्रज्वलन सी, रुपन्देही कार्यक्षेत्र भएका केन्द्रीय सदस्य शरद सी, ललितपुर जिल्ला ईन्चार्ज विपिन सीलगायतलाई जिम्मेवारीबाट हटाएको थियो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले असार १७ गते गण्डकी प्रदेश समितिको सिफारिसपछि काजी गुरुङलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । सो पार्टीले संगठन अधिवेशन समितिका सदस्य तथा गण्डकी प्रदेशमा कार्ययत क काजी सी (काजी गुरुङ) ले लगातार पार्टी विचार, एकीकृत जनक्रान्तिको कार्यदिशा, नेतृत्व एवं पद्धती र अनुशासन विरुद्ध अवसरवादी एवं निचतापूर्ण गुटवादी हर्कत गदै आएको, पार्टीको नाममा आर्थिक अपचलन गर्दै आएको, पोखरा लिचीवारी जग्गा मुद्धामा अनुचित आर्थिक लेनदेन गरेको, पार्टीका नाममा मुद्धा हदै आर्थिक असुल गरेको, पार्टी प्रदेश कार्यालयको जिन्सी सम्पत्ती हिनामिना गरी अपचलन गरेको, सांगठनिक रुपमा अराजकतावादी एवं फुटवादी गतिविधि गरेको, पार्टी विरुद्ध गोयवल्स शैलीमा दुस्प्रचार गरेको, नेकपा (माओवादी) मै रहेका र पार्टीबाट निष्कृय भइसकेका मान्छेहरुलाई प्रलोभनमा पारि किर्ते हस्ताक्षर समेत गरी भ्रामक नामावली खडा गरेर सामाजिक सञ्जाल र सञ्चार माध्याममा अफवाह फैलाएका कारण नेकपा (माओवादी) गण्डकी प्रदेशले कारवाहीका लागि पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरे बमोजिम काजी गुरुङलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पार्टीबाट निस्कासन गरिएको जनाएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एकीकृत जनक्रान्ति, देश र जनताको वास्तविक राजनीतिक प्रतिनिधि आफ्नो पार्टी मात्रै भएको ठोकुवा गरेको छ– सो पार्टीले अमेरिकी साम्राज्यवादी हस्तक्षेका विरुद्ध राष्ट्रिय स्वाधिनताको पक्षमा संघर्ष गरिराखेको, नवदलाल पूँजीवादीहरुको निरकुशता र फासिवादका विरुद्ध जनअधिकारको रक्षा एवं नेपाली जनताको समाजवादी व्यवस्थाका निम्ति अनवरत संघर्षरत पार्टी र नेतृत्व भएकोले साम्राज्यवादी नवदलाल पूँजीवादी र वाम खोल ओडेका दलाल र अवसरवादीहरु पार्टी, नेतृत्व र जनक्रान्तिका विरुद्ध न्वारनदेखिको बल लगाएर लागेको ठोकुवासमेत गरेको छ । सो पार्टीले दुश्मन र विरोधीहरुको षड्यन्त्रको शसक्त प्रतिवाद गर्न र पार्टी विरुद्धको अफवाहबाट सर्तक रहन सिङ्गो पार्टीपक्ति र आम नेपाली जनतामा विशेष आग्रह गर्दै पार्टीबाट पदच्युत गरिएका तिनै झुण्डले क्रान्ति, पार्टीको नीति र नेतृत्वमाथि विषवमन गर्दै नेकपा (माओबादी) फुटेको दुस्प्रचार गर्नु औचित्यहीन भएको सो पार्टीले जनाएको छ ।
