प्रधानमन्त्री प्रचण्डको राष्ट्रसंघीय भ्रमण तालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने कार्यतालिका सार्वजनिक भएको छ। भदौ ३० गते प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज १ र २ गते राष्ट्रसंघको कार्यक्रममा सहभागी हुनेछ। असोज ३ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्। न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने भए पनि को–को सहभागी हुने भन्ने अझै टुंगो लागिसकेको छैन। चार वर्षपछि नेपालले प्रधानमन्त्रिस्तरको सहभागिता जनाउँदै छ।
प्रधानमन्त्री प्रचण्ड उक्त महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड असोज ५ गतेदेखि ७ असोजसम्म चीनमा रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसहितका नेतासँग उच्चस्तरीय भेट गर्ने गृहकार्य भइरहेको छ।