नेकपा (माओवादी)द्वारा लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि २४ बुँदे मागपत्र पेश

२०८३ असार ३२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र बुझाएको छ। सो पार्टीका जिल्ला सचिव वीरेन्द्र सीको नेतृत्वमा पुगेको टोलीले बुधबार अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा विष्णु गौतमलाई २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र हस्तान्तरण गरेको हो। मागपत्रमा ओपीडी, इमर्जेन्सी, शल्यक्रिया, डायलाइसिस, स्वास्थ्य बीमा, औषधि आपूर्ति, एमआरआई, सिटी स्क्यान, प्रयोगशाला सेवा, जनशक्ति व्यवस्थापन, सुशासन तथा पारदर्शितालगायतका क्षेत्रमा तत्काल सुधार गर्न माग गरिएको छ। माओवादीले बिरामीले लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी र बेड सङ्ख्या बढाउनुपर्ने, अस्पतालमै उपलब्ध हुनुपर्ने औषधि तथा स्वास्थ्य सामग्री बाहिरबाट खरिद गर्नुपर्ने बाध्यता हटाउनुपर्ने तथा दलाल र बिचौलियाको प्रभाव नियन्त्रण गर्नुपर्ने माग गरेको छ। यस्तै, लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ तथा अन्य स्वास्थ्य विज्ञानका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गर्न पनि मानपत्रमार्फत आग्रह गरिएको छ। मागपत्रमा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले पुर्‍याएको योगदानको सम्मान गर्दै अस्पताललाई सेवाग्राहीमैत्री, पारदर्शी, गुणस्तरीय र नमुना सरकारी अस्पतालका रूपमा विकास गर्नुपर्ने उल्लेख गरिएको छ।
उक्त मागपत्रको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबार काठमाडौँ, लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय (राप्ती उपत्यका, दाङ) तथा लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्षलाई समेत पठाइएको माओवादी रुपन्देहीले जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापनमा सुधारको माग गर्दै अस्पताल प्रशासनलाई बुझाएको २४ बुँदे ध्यानाकर्षण तथा मागपत्र यस प्रकार रहेको छ –
१.ओपिडी टिकट वितरण प्रणालीलाई व्यवस्थित, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाई लामो लाइन तथा अनावश्यक प्रतीक्षा समयको अन्त्य गर्दै क्यूआर (QR) मार्फत शुल्क भुक्तानीको व्यवस्था गरियोस्। साथै डिजिटल टोकन, अनलाइन पूर्व-दर्ता तथा एसएमएसमार्फत पालो जानकारी दिने प्रणाली लागू गरियोस्।
२.इमर्जेन्सी सेवामा बिरामीको चापअनुसार पर्याप्त डाक्टर, नर्स, स्वास्थ्यकर्मी, बेड तथा आवश्यक उपकरणको व्यवस्था गरियोस्।
३. पित्तथौली, किड्नीको पथरी,महिलाको पाठेघर हाडजोर्नी लगायत शल्यक्रियाको क्षमता विस्तार गरी बिरामीले लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य गरियोस्।
४.ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला, बालबालिका तथा गम्भीर बिरामीका लागि प्राथमिकताका आधारमा झन्झटरहित सेवा सुनिश्चित गरियोस्।
५.सहिद तथा बेपत्ता परिवार,जेष्ठ नागरिक,अति विपन्न परिवारका बिरामीलाई आंशिक छुट होइन, पूर्ण निःशुल्क उपचारको व्यवस्था गरियोस्। साथै आईसीयू, सिटी स्क्यान, एमआरआई तथा अस्पतालमा उपलब्ध सबै आवश्यक सेवामा निःशुल्क सुविधा सुनिश्चित गरियोस्।
६.मिर्गौला रोगीका लागि हाल उपलब्ध डायलाइसिस बेड अपर्याप्त भएकाले आवश्यक विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, उपकरण तथा पूर्वाधारसहित डायलाइसिस सेवाको तत्काल विस्तार गरियोस्। साथै क्यान्सर, मुटुरोग, मस्तिष्कघात (स्ट्रोक), कलेजो रोग, दीर्घ श्वासप्रश्वास रोगलगायत अन्य प्राणघातक रोगहरूको समयमै निदान, गुणस्तरीय उपचार तथा आवश्यक विशेषज्ञ सेवा यही अस्पतालबाट सहज र नियमित रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइयोस्।
७.रेबिज लगायत सरकारी कार्यक्रम अन्तर्गत उपलब्ध हुने सबै खोप तथा अत्यावश्यक स्वास्थ्य सेवामा प्रया: देखिने अभावको अन्त्य गरी ती सेवा सधैं नियमित र सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरियोस्।
८.एमआरआई, सिटी स्क्यान, भिडियो एक्स–रे, अल्ट्रासाउन्ड तथा प्रयोगशाला सेवाको रिपोर्ट समयमै उपलब्ध गराइयोस् तथा बिग्रिएका उपकरणको तत्काल मर्मत वा प्रतिस्थापन गरियोस्। साथै उक्त अत्यावश्यक सेवाको परिक्षण २४ सै घण्टा सञ्चालन गरियोस्।
९.स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध औषधि तथा सेवा २४ सै घण्टा सहज रूपमा उपलब्ध गराइयोस्।
१०.अस्पतालको सामाजिक सेवा इकाइमार्फत प्रदान गरिने सहुलियत औषधि तथा अन्य सेवाहरू पहुँच, शक्ति वा व्यक्तिगत प्रभावका आधारमा नभई बिरामीको वास्तविक आर्थिक अवस्था, स्वास्थ्य अवस्था र आवश्यकताको आधारमा पारदर्शी सम्मान र सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरियोस्।
११. बिदाको समयमा पनि विशेषज्ञ चिकित्सक सेवाको उपलब्धता सुनिश्चित गरी आवश्यक सेवा विस्तार गरियोस्।
१२. प्रयोगशाला, फार्मेसी, टिकट काउन्टर तथा अन्य सेवामा हुने ढिलाइ,अव्यवस्था तथा बिचौलियाको प्रभाव अन्त्य गरियोस्।
१३) बिरामीको चापअनुसार विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी र जनशक्ति थप गरियोस्। साथै आवस्यकता अनुसार आईसीयू, एचडीयू, वार्ड तथा शल्यक्रियापछिको बेड क्षमता विस्तार गरियोस्।
१४.पहाडका जिल्ला, लुम्बिनी प्रदेश तथा छिमेकी जिल्ला लगायत देशभरबाट आउने बिरामीको चापलाई ध्यानमा राखी विशेषज्ञ सेवा, वार्ड, बेड तथा आवश्यक पूर्वाधार विस्तार गरियोस्।
१५.उपकरण बिग्रिएर सेवा अवरुद्ध हुने अवस्थाको अन्त्य गर्न नियमित मर्मत-सम्भार, समयमै प्रतिस्थापन तथा वैकल्पिक सेवाको व्यवस्था सुनिश्चित गरियोस्। साथै अस्पतालमा प्रयोग हुने सर्जिकल सामग्री, औषधि तथा स्वास्थ्य उपकरणको गुणस्तर सुनिश्चित गर्दै नियमित अनुगमन र गुणस्तर परीक्षण गरियोस्।
१६.बिरामी लाई अस्पताल भित्र नै उपलब्ध हुनुपर्ने औषधि तथा सामग्री बाहिरबाट खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गरियोस्।
१७.अस्पतालको भौतिक पूर्वाधार निर्माण, मर्मत-सम्भार, उपकरण तथा औषधि खरिद, स्टोर व्यवस्थापन र सम्पूर्ण सार्वजनिक खरिद प्रक्रियामा सुशासन, पारदर्शिता, प्रतिस्पर्धा, मितव्ययिता, गुणस्तर, उत्तरदायित्व तथा कानुनी मापदण्डको पूर्ण पालना सुनिश्चित गर्दै अनियमितता र भ्रष्टाचार नियन्त्रण गरियोस्।साथै अस्पताल परिसरभित्र हुने दलाल तथा बिचौलियाको गतिविधि पूर्ण रूपमा नियन्त्रण गरियोस् ।
१८.बिरामी वा सरोकारवाला निकायको गुनासो तथा सुझाव दर्ता, सुनुवाइ र समाधानका लागि प्रभावकारी हेल्प डेस्क तथा हटलाइन सेवा सञ्चालन गरि सहायता (Help Desk) मा अनुभवी, सेवामैत्री र जिम्मेवार कर्मचारी खटाई सही सूचना, आवश्यक परामर्श र सहज सेवा उपलब्ध गराइयोस्।
१९.पोष्टमार्टम सेवा थप व्यवस्थित, समयमै र प्रभावकारी रूपमा सञ्चालन गरियोस्।
२०.अस्पतालका सबै तहका कर्मचारीप्रति समान, सम्मानको व्यवहार गरियोस् तथा जिम्मेवारी दिदा पहच र शक्तिका आधारमा भन्दा योग्यता, क्षमता,अनुभव, लगनशीलता र कार्यसम्पादनका आधारमा प्रदान गरियोस्।
२१. डाक्टर, नर्स तथा सम्पूर्ण कर्मचारीले प्रत्येक बिरामीप्रति सम्मानजनक, मानवीय, जिम्मेवार र सेवामैत्री व्यवहार सुनिश्चित गरियोस्।
२२.शौचालय, वार्ड तथा अस्पताल परिसरलाई सफा, सुरक्षित, व्यवस्थित तथा संक्रमण नियन्त्रणका मापदण्डअनुसार सञ्चालन गरियोस्।
२३.लुम्बिनी प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गरी एमबीबीएस, नर्सिङ, स्वास्थ्य विज्ञान तथा अन्य प्राविधिक विषयहरूमा नियमित तथा स-शुल्क अध्ययन-अध्यापनको व्यवस्था गर्न आवश्यक पहल गरियोस्।साथै आवश्यक पूर्वाधार, जनशक्ति, आधुनिक उपकरण, शैक्षिक कार्यक्रम र कानुनी प्रक्रिया पूरा गरी यस अस्पताललाई प्रदेशकै उत्कृष्ट उपचार, शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास पहल गरियोस्।
२४.अस्पतालको समग्र प्रशासनिक,आर्थिक तथा सेवा व्यवस्थापनलाई सूचना प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री बनाइयोस्। साथै प्रशासन र सरोकारवालाबीच नियमित सार्वजनिक सुनुवाइ तथा सेवा समीक्षा गरी जनगुनासोको समयमै समाधान गरियोस्।
अन्त्यमा,अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मीको योगदानप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौं। माथि उल्लेखित मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गरी लुम्बिनी प्रादेशिक अस्पताललाई सुशासित, पारदर्शी, सेवाग्राहीमैत्री, गुणस्तरीय तथा नमुना सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक पहल गरिदिन सरोकारवाला निकायमा हार्दिक अनुरोध गर्दछौं।’

प्रतिक्रियाहरु

[anycomment]