‘अपवित्र साँठगाँठ होइन, वामपन्थी एकता आजको आवश्यकता’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अपवित्र साँठगाँठ नभएर वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन्। नेता खनालले आइतबार एक बिज्ञप्ति जारी गर्दै देशको विद्यमान जटिल परिस्थितिको सामना गर्न सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै तत्काल कुनै पनि प्रकारको अपवित्र साँठगाँठमा नलाग्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन्।
नेता खनालले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरू समाधानको दिशातिर जानेछन् भन्ने आम जनतामा आशा पलाए पनि त्यसको विपरीत देशको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताका हकअधिकार र छिमेकी मुलुकहरूसँगको सम्बन्ध खलबलिन थालेको उल्लेख गरेका छन्। उनले बढ्दो विदेशी हस्तक्षेप र आन्तरिक अस्तव्यस्तताका कारण देशका श्रमजीवी जनता चरम निराशामा पुगेको दाबी गर्दै यस्तो संकटपूर्ण घडीमा देशका तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएका छन्। उनले त्यसका लागि कम्युनिस्टहरूले आफ्ना आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपन्थी एकताको पहल गर्नुपर्ने समेत बताएका छन् ।
नेता खनालले विगतमा कम्युनिस्ट पार्टीले नीतिहीन, वर्ग दृष्टिकोणविहीन र निहित गुट स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँग सम्झौता गर्ने गल्ती गरेको स्मरण गराउँदै अहिले पनि त्यही प्रवृत्ति दोहोरिने र पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुग्ने खतरा देखिएको प्रति चिन्ता व्यक्त गरेका छन्। उनले कुनै पनि नयाँ राजनीतिक समीकरण वा प्रदेश सरकार गठन प्रक्रियामा सामेल हुनुभन्दा अगाडि अनिवार्य रूपमा ‘केन्द्रीय संयोजन समिति’ को बैठक बोलाउन जोडदार माग गरेका छन्।
नेता खनालले कमिटीमा वर्तमान आवश्यकताका बारेमा विस्तृत छलफल गरी क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीतिगत निर्णय गरिनुपर्ने बताएका छन् । उनले केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका लागि मात्र गरिने साँठगाँठको प्रवृत्तिलाई रोक्दै पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलबाट जोगाउनुपर्ने भन्दै यो बेला सत्ताको लुछाचुँडी गर्ने नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने उपयुक्त समय भएको स्पष्ट पारेका छन्।
यस बिषयमा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ -‘नवनिर्वााचित प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बने पछि मुलुकका ज्वलन्त समस्याहरु समाधानको दिशातिर जान्छन कि भन्ने आम जनताको आशा विपरित मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनताका जनजिविकाहरु, जनताका हितहरु र अधिकारहरु, जनताको सुचना प्राप्त गर्ने हकहरु, छिमेकी मुलुकहरु संगका सम्बन्धहरु र राज्य कै विभिन्न अङ्गहरु बीचका सम्बन्धहरु समेत खलबलिन थालेका छन् । यो देशका श्रमजीवि जनता खोलामा हामफाल्न र आत्महत्या गर्न वाध्य हुन थालेका छन् । यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्ताका बिरुद्ध यो देशका आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपंथी, समाजवादी र प्रगतिशील शक्तिहरु एकतावद्ध भएको देख्न चाहान्छन । यस्तो एकतालाई सम्पुर्ण वामपंथीहरुको एकतावद्ध पहलबाट भएको हेर्न चाहान्छन । त्यसका निम्ति वामपंथीहरुले आफु बीचका आग्रह, पुर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपंथी एकताको पहल गरेको हेर्न चाहान्छन् । तर नेपालका वामपंथीहरु विगतमा नीतिहिन, वर्ग दृष्टिकोण हिन र नीहित गुट स्वार्थका आधारमा दक्षिणपंथी शक्तिहरुसंग एकता गर्न आनन्द महसुुस गर्दै आएका छन । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीले पनि ठीक यहि गल्ती गर्दै आएको छ । अहिले पनि त्यहि गल्ती गर्ने र दक्षिणपंथी शक्तिहरु सँग नै सांठगांठ गरेर कम्युनिष्ट पार्टीको प्रतिष्ठामा अझ बढि आँच पुर्याउने खतरा देखा परेको छ।
त्यसैकारण यो जटिल अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समिकरण बारे सोच्नु भन्दा अगाडि कम्तिमा केन्द्रीय संयोजन समितिको वैठक बोलाईयोस, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रुपले छलफल गरियोस र क्रान्तिकारी उद्धेश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस र पार्टीलाई दक्षिणपंथी वर्ग संझौतावादको दलदल तिर जानबाट संस्थागत रुपले बनाइयोस् । केहि नेताहरुको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र सांठगांठ गर्ने प्रवृतिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाईयोस् । हामी नेपालका सबै कम्युनिष्ट र वामपंथीहरुले बुझ्नुपर्छ – यो सांठगांठको वेला होईन सहि कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रुपान्तरण गर्ने बेला हो ।’

