एमसीसीको म्याद थप !

२०८३ मंसिर १३ गते, आईतवार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ । बैठकले लागत नबढ्नेगरी एमसीसी कम्प्याक्ट अन्तर्गतका परियोजना सम्पन्न गर्ने म्याद एक वर्ष थप गर्ने अधिकार अर्थ मन्त्रालयलाई प्रदान गरेको छ ।
एमसीसी अनुदानमा सञ्चालित परियोजनाहरू पाँच वर्षभित्र सम्पन्न गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । तर, नेपालमा परियोजना कार्यान्वयन सुरु (इन्ट्री इन्टु फोर्स) भएपछि अमेरिकी सहयोगबारे समीक्षाका कारण केही महिना काम स्थगित भएको, प्राकृतिक विपद्का कारण ढिलाइ भएको लगायत कारण एक वर्षसम्म म्याद थप गर्ने विषयमा नेपाल र अमेरिका दुवै सहमत भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
नेपालमा एमसीसी परियोजना १३ भदौ २०८० देखि कार्यान्वयनमा गएको थियो । सोही मितिदेखि पाँच वर्षभित्र परियोजना कार्यान्वयन भइसक्नुपर्ने, नभए अमेरिकी अनुदान फिर्ता जाने एमसीसी कम्प्याक्टमा उल्लेख छ । तर, यसबीच अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उक्त सहयोगको समीक्षाका लागि केही समय कार्यान्वयन रोकिएको थियो ।
त्यस्तै गत वर्ष र यस वर्ष त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पनि परियोजना कार्यान्वयनमा असर परेको मन्त्रालय स्रोत बताउँछ । यी विषय मध्यनजर गर्दै एक वर्षसम्म परियोजना कार्यान्वयन म्याद थप गर्ने तयारी भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]